काठमाडौं पोडवे कम्पनी प्रालिले काठमाडौं–हेटौँडा हुँदै वीरगन्जसम्म ९७ किलोमिटर लामो पोडवे यातायात सञ्चालन गर्न लगानी बोर्डमा प्रस्ताव पेस गरेको छ । कम्पनीले सो परियोजना निर्माणका लागि करिब ७१ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ ।
लगानी बोर्डका प्रवक्ता प्रध्युम्नप्रसाद उपाध्यायका अनुसार कम्पनीले गत साता प्रारम्भिक प्रस्तावसहित बोर्डमा आवेदन पेस गरेको हो । बुधबार (भदौ ४) कम्पनीका सञ्चालकले पोडवेको सम्भावना र लगानीबारे प्रस्तुति पनि दिएका छन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पोडवेलाई सार्वजनिक यातायातका विकल्पका रूपमा विकास गर्ने योजना ल्याइसकेको छ । उपाध्यायका अनुसार विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अझै बाँकी छ । कम्पनीले हेटौँडादेखि काठमाडौंसम्म पुरानो रोपवेको लाइन प्रयोग गर्ने र हेटौँडादेखि वीरगन्जसम्म राजमार्गको माथिबाट नयाँ ट्रयाक बनाउनुपर्ने बताएको छ ।
उनका अनुसार नेपालमा यो प्रविधि नयाँ भएकाले पूर्वाधार निर्माणअघि आर्थिक, प्राविधिक, वातावरणीय र सामाजिक अध्ययन आवश्यक हुन्छ । कम्पनीले अध्ययन सम्पन्न गर्न करिब दुई वर्ष लाग्ने अनुमान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने आगामी लगानी बोर्ड बैठकले सम्भाव्यता अध्ययनका लागि अनुमति दिने वा नदिने निर्णय गर्नेछ ।
काठमाडौं पोडवे कम्पनीले यसअघि काठमाडौं उपत्यकाभित्र करिब १०० किलोमिटरमा पोडवे सञ्चालन गर्ने प्रारम्भिक अध्ययन गरिसकेको छ । चक्रपथ, बूढानीलकण्ठ–कीर्तिपुर, तारकेश्वर–टोखा, रत्नपार्क–बानेश्वर लगायत मार्गमा विस्तार सम्भावना रहेको कम्पनीको भनाइ छ ।
पोडवे के हो ?
पोडवे तारमा आधारित उन्नत यातायात प्रविधि हो, जसलाई केबलकारको विकसित स्वरूप मानिन्छ । बिजुलीबाट चल्ने भएकाले पेट्रोलियम पदार्थको खर्च घट्ने र वातावरणमैत्री हुने दाबी गरिएको छ ।
भारत र बेलारुसमा सञ्चालनमा रहेको यो प्रविधिको गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुग्ने जनाइएको छ । एउटै पोडमा ४२ यात्रु अट्ने र एक घण्टामा करिब ५० हजार यात्रु ओसारपसार गर्न सक्ने क्षमता रहेको बताइएको छ ।
विशेषज्ञहरूका अनुसार पोडवे निर्माण लागत केबलकारभन्दा करिब ५० प्रतिशत र मेट्रोरेलको चारौँ भाग बराबर मात्रै पर्छ । करिब १०० किलोमिटर पोडवे बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यसअघि गोसाइँकुण्ड हिल्स कम्पनीले काठमाडौं–हेटौँडा बीच ४२ किलोमिटर रोपवे बनाउन २१ अर्ब रुपैयाँको प्रस्ताव लगानी बोर्डमा पेस गरेको थियो । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको असहयोगका कारण सो योजना अघि बढ्न सकेको छैन ।
नेपालमा रोपवेको इतिहास पुरानो भए पनि दीर्घकालीन सञ्चालनमा चुनौती रहँदै आएको छ । २०२० सालमा अमेरिकाको सहयोगमा सञ्चालनमा आएको हेटौँडा–काठमाडौं रोपवे ०५६ जेठदेखि बन्द छ ।


