सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रबाट १५ किलोमिटर भित्र रहेका प्रदूषणकारी उद्योगलाई दुई वर्षभित्र बन्द वा स्थानान्तरण गर्न आदेश जारी गरेपछि सरकारले यसको कार्यान्वयन कसरी गर्ने भन्नेमा छलफल सुरु गरेको छ। अदालतको आदेशले लुम्बिनी संरक्षणतर्फ निर्णायक सन्देश दिएको भए पनि व्यावहारिक कार्यान्वयन कति सम्भव छ भन्ने प्रश्नमा भने सरोकारवालाबीच गम्भीर बहस चलिरहेको छ।
भैरहवा–लुम्बिनी करिडोरमा हाल करिब ५० वटा ठूला उद्योग सञ्चालनमा छन्। तीमध्ये १२ वटा सिमेन्ट कारखाना, ६ स्टील उद्योग, १० भन्दा बढी इँटा भट्टा, कागज, तेल, स्पिनिङ, प्लाइबोर्ड, खाद्य उद्योगलगायत रहेका छन्। उद्योगीहरूको अनुमानमा करिब ६०–७० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने प्रत्यक्ष रोजगारीमा करिब १० हजार मानिस संलग्न छन्।
यी उद्योगहरूमा अर्घाखाँची सिमेन्ट, सिद्धार्थ सिमेन्ट, अम्बुजा सिमेन्ट, अम्बे स्टील, रिलायन्स सिमेन्ट, गोयन्का स्टिल, चौधरी ग्रुपका उद्योग, जगदम्बा सिमेन्ट, बृज सिमेन्ट, सुप्रिम सिमेन्ट, विशाल सिमेन्ट, सिद्धार्थ आयल, जयश्री फुड्स, श्याम प्लाइबोर्डलगायतका ठूला राष्ट्रियस्तरका उद्योग छन्। यी उद्योगहरूले लुम्बिनी प्रदेशको राजस्व, रोजगार र स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
विकल्पबिना सम्भव छ ?
उद्योगी व्यवसायीहरूले सर्वोच्चको आदेशको मर्मप्रति असहमति नराखे पनि कार्यान्वयनका लागि स्पष्ट विकल्प आवश्यक रहेको बताएका छन्। सिद्धार्थ सिमेन्टका सञ्चालक रोहितकुमार अग्रवाल भन्छन्, “लुम्बिनी बचाउन सबै उद्योगी तयार छन्, तर दुई वर्षमै अर्को लगानी डुबाएर हजारौं श्रमिकलाई सडकमा ल्याएर आदेश पालना गर्न सम्भव छैन।”
उनले क्षतिपूर्ति र वैकल्पिक औद्योगिक क्षेत्रबारे सरकारको योजना स्पष्ट नभएसम्म आदेश कार्यान्वयन असम्भव हुने दाबी गरे। “उद्योगहरू सरकारले नै अनुमति दिएर सञ्चालनमा ल्याएका हुन्। अहिले अचानक बन्द गर्न भनिँदा ऋण, जग्गा, संरचना, रोजगारी सबै जोखिममा पर्नेछ,” अग्रवालको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले पनि आदेश कार्यान्वयन व्यावहारिक चुनौती भएको बताए। उनका अनुसार, “अबौँ लगानी भएका उद्योग सार्दा बैंक ऋण, ब्याज, रोजगारी सबै तहसनहस हुन्छ। विकल्पबिना आदेश कार्यान्वयन गर्दा राज्यलाई नै ठूलो नोक्सानी पर्न सक्छ।”
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यका अनुसार, आदेश तत्काल लागू भए करिब १० हजार मजदुर बेरोजगार हुनेछन्। उनीहरूको करिब ५० हजार आश्रित परिवार पनि प्रभावित हुने खतरा छ। आचार्य भन्छन्, “उद्योग स्थानान्तरण गर्न भए पनि सरकारसँग सहुलियत, पर्याप्त समय र स्पष्ट नीति चाहिन्छ। बिना तयारी उद्योग सार्दा सामाजिक समस्या बढ्नेछ।”
उद्योगीहरूको अर्को तर्क भनेको लुम्बिनी नजिकैको भारतीय सीमा क्षेत्रमा रहेका दर्जनौं इँटा उद्योगबारे हो। उद्योगीहरूका अनुसार, ती उद्योगहरूबाट समेत प्रदूषण भइरहेको छ। “नेपालतर्फका मात्र उद्योग बन्द गरेर हुँदैन। लुम्बिनी बचाउन हो भने सीमा पारिका उद्योगबारे पनि पहल हुनुपर्छ,” अग्रवालको भनाइ छ।
उद्योगीहरूले वातावरणीय मापदण्ड स्पष्ट बनाउन सरकारसँग आग्रह गरेका छन्। अर्घाखाँची सिमेन्टका सञ्चालक राजेशकुमार अग्रवाल भन्छन्, “यदि प्रदूषण नै समस्या हो भने सरकारले ठ्याक्कै मापदण्ड तय गरिदियोस्। जसले मापदण्ड पालना गर्दैन, त्यसलाई मात्र सारौँ। सबैलाई एउटै घानमा हाल्नु समाधान होइन।”
उनका अनुसार, प्रदूषण नियन्त्रणका लागि धेरै उद्योगले डस्ट कलेक्टर र फिल्टर प्रविधि जडान गरिसकेका छन्। त्यसैले प्राविधिक सुधारलाई प्रोत्साहन गर्नुपर्नेमा ‘स्थानान्तरण मात्र’ समाधानका रूपमा देखिनु औचित्यपूर्ण छैन।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले गत साता जनहित संरक्षण मञ्चका कार्यकारी अध्यक्ष प्रकाशमणि शर्माले दायर गरेको रिटमा उत्प्रेषण आदेश जारी गरेको हो।
यसअघि औद्योगिक प्रवर्द्धन बोर्डले तयार पारेको अध्ययन प्रतिवेदनमा लुम्बिनी क्षेत्रमा वातावरण संरक्षणका लागि प्रदूषण नियन्त्रण मापदण्ड पूरा नगर्ने उद्योग स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो। सोही आधारमा सर्वोच्चले आदेश जारी गरेको हो।
आदेशअनुसार, लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरिपरि कार्बन उत्सर्जन नगर्ने उद्योगबाहेक नयाँ उद्योग स्थापना गर्न पाइँदैन। पहिल्यै दर्ता भएका उद्योगले वातावरण संरक्षण ऐनले तोकिएको मापदण्ड पूरा गर्नुपर्छ, नत्र दुई वर्षभित्र स्थानान्तरण गर्नुपर्नेछ। साथै, उद्योगहरूको पुँजी वृद्धि, क्षमता विस्तार वा नयाँ स्वीकृति दिने काम नगर्ने नीति कायम रहनेछ।


