सेयर बजारमा ‘दोहोरो आईजिन’को विवादले पछिल्लो समय जारी भएका करिब १ अर्ब ६१ करोड १७ लाख कित्ता संस्थापक सेयर सूचीकृत हुन सकेका छैनन्। यसले समग्र पुँजी बजार प्रभावित भएको छ।
सीडीएस एन्ड क्लियरिङ हाउस (सीडीएससी) ले संस्थापक र साधारण सेयरका लागि फरक-फरक (दुईवटा) आईजिन नम्बर अनिवार्य गर्ने प्रस्ताव गरेको छ। यसका लागि ‘धितोपत्र अभौतीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ तयार पारिएको छ। यो निर्देशिका नेपाल धितोपत्र बोर्ड (सेबोन) मा स्वीकृतिको पर्खाइमा छ।
हालसम्म बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीको सेयरका लागि एउटै आईजिन नम्बर दिने गरिन्थ्यो। तर, अब सीडीएससीले संस्थापक सेयरको लागि छुट्टै आईजिन नम्बरको व्यवस्था गर्न खोज्दा समस्या उत्पन्न भएको हो। सरोकारवालाहरूले यसलाई कानुनी आधारबिनाको प्रस्ताव भन्दै विरोध जनाएका छन्। उनीहरूको तर्क छ, यसले ‘लक-इन’ अवधि सकिएका संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्न थप समय लाग्नेछ, जसले बजारमा तरलता घटाउनुका साथै पुँजी पलायनको जोखिम पनि बढाउनेछ।
२०८१ साल माघ महिनादेखि आईपीओ जारी गरेका एक दर्जन कम्पनीहरूको संस्थापक सेयर यस विवादका कारण सूचीकृत हुन पाएको छैनन्। यसमा जलविद्युत्, उत्पादन, अन्य समूह, होटल, पर्यटन र लघुवित्त समूहका कम्पनीहरू पर्छन्। विशेष गरी विद्युत् उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले यो प्रस्तावले सरकारी लक्ष्यमै असर पार्ने भन्दै विरोध गरेको छ।
सीडीएससीले साउन ११ गते निर्देशिका स्वीकृतिका लागि सेबोनमा पठाए पनि हालसम्म कुनै निर्णय भएको छैन। सेबोनले नयाँ निर्देशिकाको अध्ययन भइरहेको बताएको छ। यद्यपि, अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार हालको व्यवस्था खारेज नभएकोले सेबोन र सीडीएससीले चाहेमा तत्काल सेयर सूचीकृत गर्न सक्ने अवस्था छ। तर, यो विवादका कारण लगानीकर्तामा देखिएको अन्योलताले सेयर बजारको भविष्यमाथि प्रश्नचिह्न खडा गरेको छ।


