Banijya News

बुङ्गल हाइड्रोको आईपीओ भोली बाँडफाँट हुने

1
1.2K Shares

बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारण लगानीकर्तामा निष्कासन गरेको आईपीओ असोज २ गते (बिहीवार) बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बिहीवार बिहान ९ः३० बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा कम्पनीले १७ लाख १ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । यस आधारमा कम्पनीको आईपीओ १ लाख ७० हजार १५० जनाले मात्र १० कित्ताका दरले प्राप्त गर्नेछन् ।

सर्वसाधारणमा आईपीओ निष्कासन गर्नुअघि कम्पनीले आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कुल कित्ता आईपीओमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीय र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँट गरिएको हो । यी बाहेक १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरूका लागि बाँडफाँट गरिसकिएको छ ।

कम्पनीले १० दशमलव ७ मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । २०८० भदौ २ गतेदेखि उक्त आयोजनबाट व्यापारिक उत्पादन शुरु भएको हो । यस आयोजना निर्माणको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ छ ।

1

Scroll to Top