Banijya News

अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच नेपाललाई हुने सम्भावित सहयोगबारे छलफल

1
1.2K Shares

आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम डीन आर. थम्पसन बीच शिष्टाचार भेट सम्पन्न भएको छ।

उक्त अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूतले नेपालको हालको परिवर्तित अवस्था, वर्तमान सरकारका प्राथमिक कार्यहरु, र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा विस्तृत छलफल गरेका छन्।

अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेज मार्फत निजी क्षेत्रको मनोबल उकास्ने प्रयासमा केन्द्रित रहेको जानकारी दिए । अमेरिकी राजदूतले हालैको घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै, यस परिस्थितिमा अमेरिकी सरकार नेपालका साथमा रहेको उल्लेख गरे ।

त्यसैगरी, अमेरिकी राजदूतले एमसीसी को सहयोगमा संचालित MCA नेपाल मार्फत कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्न सरकारको थप प्रतिवद्धता आवश्यक रहेको बताए । अर्थमन्त्री खनालले परियोजनाहरुको सफल कार्यान्वयनका लागि आवश्यक कार्यमा ढिलाइ नहुने विश्वास दिलाए ।

उक्त अवसरमा अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको निरन्तर सहयोगको उच्च सराहना गर्दै, भविष्यमा पनि यस प्रकारको सहयोग निरन्तर रहिरहने अपेक्षा व्यक्त गरे ।

वैठकमा अर्थ सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी राजदूतावासका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

1

Scroll to Top