Banijya News

दुई महिनामै साढे तीन खर्बको वैदेशिक व्यापार, व्यापार घाटा २ खर्ब ५७ अर्ब

1
1.2K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार साढे तीन खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागका अनुसार भदौ मसान्तसम्म ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २२.५४ प्रतिशतले बढी हो। गत आवको भदौ मसान्तसम्म २ खर्ब ८७ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।

दुई महिनाको अवधिमा वस्तु आयात तीन खर्ब नाघेको विभागले जनाएको छ। यस अवधिमा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो आवको तुलनामा १६.२३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको आयात भएको थियो।

आयातसँगै निर्यात पनि उच्च दरमा बढेको छ। भदौ मसान्तसम्म ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ८८.५७ प्रतिशत बढी हो। अघिल्लो वर्ष सोही अवधिसम्म २५ अर्ब ९ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो।

भन्सार विभागका तथ्यांकअनुसार पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। कुल वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढ्दा पनि घाटा भने ८.५९ प्रतिशत मात्रै बढेको छ। यसमा निर्यात वृद्धिले ठूलो भूमिका खेलेको विभागको मूल्याङ्कन छ।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.५८ प्रतिशत रहेको छ, जुन अघिल्लो आवको तुलनामा ५.१५ प्रतिशतले घटेको हो। निर्यातको हिस्सा भने १३.४२ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवको तुलनामा ५३.८८ प्रतिशतले बढेको देखिन्छ।

दुई महिनामा निर्यात रकम इन्धन आयातभन्दा बढी भएको छ। इन्धन आयातमा ४५ अर्ब ३९ करोड रुपैयाँ विदेशिएको छ भने सोही अवधिमा ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

बढी आयात हुने वस्तु समूहमा वनस्पति तेल दोस्रो स्थानमा छ। त्यसपछि आइरन र स्टिल (२२ अर्ब ९७ करोड), इलेक्ट्रिकल मेसिन र पार्टपुर्जा (२२ अर्ब १६ करोड), सवारीसाधन (१७ अर्ब २२ करोड) र औषधिजन्य सामग्री (७ अर्ब १० करोड) रहेका छन्।

दुई महिनामा कच्चा सोयाबिन तेल सबैभन्दा बढी आयात भएको छ। यसमा मात्रै २१ अर्ब ६४ करोड रुपैयाँ विदेशिएको छ। दोस्रो स्थानमा डिजेल (१४ अर्ब ९१ करोड), तेस्रोमा डीएपी मल (१३ अर्ब ६६ करोड), चौथोमा पेट्रोल र त्यसपछि खाना पकाउने एलपी ग्यास छन्। सोही अवधिमा स्मार्टफोनको आयात ९ अर्ब ४३ करोड रुपैयाँ बराबर भएको छ।

निर्याततर्फ सबैभन्दा बढी सोयाबिन तेलको हिस्सा छ। दुई महिनामा २० अर्ब ४२ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। दोस्रो स्थानमा कार्पेट (१ अर्ब ५८ करोड), सूर्यमुखी तेल (१ अर्ब ३८ करोड) र पाम तेल (१ अर्ब ३१ करोड) रहेका छन्।

नेपालले सबैभन्दा धेरै व्यापार भारतसँग गरेको छ। भारतबाट १ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु नेपाल आयात भएको छ भने ३८ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भारतमा भएको छ।

चीन दोस्रो ठूलो साझेदार बनेको छ। त्यहाँबाट ६५ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १२ करोड ३४ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको छ। तेस्रो स्थानमा अर्जेन्टिना रहेको छ, जहाँबाट वनस्पति तेलसहित १८ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

निर्यातका दृष्टिले भने अमेरिका दोस्रो ठूलो बजार बनेको छ। नेपालले अमेरिकामा ३ अर्ब २१ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ। तर अमेरिकाबाट ६ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ।

1

Scroll to Top