Banijya News

बैंकहरुबाट प्रवाह हुने विपन्न वर्गतर्फको कर्जा निरन्तर घट्दै

1
1.2K Shares

पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाहरुले ठूला व्यवसाय र सुरक्षित लगानीतर्फ प्राथमिकता बढाउँदै साना र विपन्न वर्गतर्फको कर्जा प्रवाह घटाएको देखिएको छ। आर्थिक वर्ष २०७८/७९ सँग तुलना गर्दा गत आर्थिक वर्षमा विपन्न वर्गतर्फ कर्जा ०.९ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, वित्तीय क्षेत्रले गत आर्थिक वर्षमा कुल ५५ खर्ब ८१ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा विपन्न वर्गतर्फ कुल २ खर्ब ९६ अर्ब २६ करोड रुपैयाँ मात्र पुगेको छ। यो कुल कर्जा प्रवाहको ५.५२ प्रतिशत मात्रै हो।

वाणिज्य बैंकहरुले मात्र ४९ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। तर, विपन्न वर्गले पाएको हिस्सा ५.४० प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो प्रतिशत ६ भन्दा माथि थियो। यसले बैंकहरु ठूला व्यवसाय, उद्योग र सुरक्षित परियोजनातर्फ केन्द्रित भएको देखाउँछ।

विकास बैंकहरुको अवस्था पनि त्यस्तै छ। पाँच खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह भए पनि विपन्न वर्गतर्फ गएको हिस्सा ३३ अर्ब ९२ करोड रुपैयाँ (६.६१ प्रतिशत) मात्रै छ। अघिल्लो वर्ष यो दर ७.७४ प्रतिशत थियो।

फाइनान्स कम्पनीहरुले १ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। तर, विपन्न वर्गले पाएको हिस्सा ५.४८ प्रतिशत अर्थात् ५ अर्ब ५५ करोड रुपैयाँमा सीमित रह्यो। अघिल्लो वर्ष यो दर ७.२७ प्रतिशत थियो।

विपन्न वर्गतर्फको कर्जा सामान्यतया कृषि, साना उद्योग, स्वरोजगार, पशुपालन, उद्यमशीलता र ग्रामीण क्षेत्रमा केन्द्रित हुन्छ। उच्च जोखिम, ऋण असुलीमा कठिनाइ र ग्यारेन्टीको समस्या हुँदा बैंक र फाइनान्स कम्पनीहरु यसतर्फ आकर्षित हुन हिच्किचाउँछन्। साथै, सुस्त अर्थतन्त्र र सहकारी संकटले साना व्यवसायका लागि कर्जा मागमा कमी ल्याएको बताइएको छ।

विशेषज्ञहरुले ठूला व्यापार, रियल स्टेट, आयात–निर्यात, हाइड्रोपावर र अन्य सुरक्षित क्षेत्रमा लगानी गर्दा तत्काल नाफा र ग्यारेन्टी हुने भएकाले वित्तीय संस्थाहरुको ध्यान त्यही तर्फ केन्द्रित भएको विश्लेषण गरेका छन्।

1

Scroll to Top