इनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेपछि दबाबमा रहेको सरकारले वित्तीय कारोबार गर्ने सूचक संस्थाहरूलाई शंकास्पद कारोबार (एसटीआर)/गतिविधि (एसएआर) रिपोर्टिङमा थप कडाइ गरेको छ ।
सम्पत्ति शुद्धीकरणका सूचनाहरू संकलन र विश्लेषण गर्दै आएको वित्तीय जानकारी एकाइले शंकास्पद कारोबार रिपोर्टिङसम्बन्धी निर्देशिका संशोधन गर्दै रिपोर्टिङ गर्दा घटनाको विवरण विस्तृत रूपमा लेख्नुपर्ने र त्यसमा शंका गरिएको स्पष्ट कारण दिनुपर्ने व्यवस्था गरेको हो । हालसम्म सूचक संस्थाहरूले एसटीआर/एसएआर रिपोर्टिङ मात्र गर्दै आएकोमा अब उनीहरूले यसको कारणसहितको जानकारी एकाइमा पठाउनुपर्नेछ । यस्तो रिपोर्टमा व्यक्ति वा संस्थाको नाम, नागरिकता/रजिस्ट्रेशन नम्बर, प्यान/भ्याट नम्बर, रोजगार वा व्यवसायलगायतको अद्यावधिक विवरणसमेत पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
अद्यावधिक निर्देशिकाले सूचक संस्थाबाट पेश हुने रिपोर्टिङको गुणस्तर वृद्धि भई सम्बद्ध कसूरको पहिचान, अनुसन्धान एवं सम्पत्ति शुद्धीकरण निवारणको कार्यमा सहयोग पुग्ने दाबी गरिएको छ । बैंक, वित्तीय संस्था तथा सहकारीलगायत सूचक संस्थामा एकै दिन एक जनाले १० लाख रुपैयाँभन्दा बढी नगद कारोबार गरेमा एकाइमा रिपोर्टिङ गर्नुपर्छ । यस्तै वार्षिक १ लाख रुपैयाँ प्रिमियमको जीवन बीमालेख तथा ३ लाख रुपैयाँभन्दा बढी प्रिमियमको निर्जीवन बीमालेख खरीदको सूचना पनि रिपोर्टिङ गर्नुपर्छ ।
यसैगरी घरजग्गा खरीदमा १ करोड रुपैयाँभन्दा बढीको कारोबार, शेयर कारोबारमा १० लाख, क्यासिनोमा १० लाख, एकाउन्टेन्ट, अडिटर तथा नोटरी पब्लिकका साथै सुनचाँदी खरीदमा पनि १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नेको सूचना एकाइमा पठाउनुपर्छ ।
सीमाभन्दा कम रकमको कारोबार भए पनि ग्राहकको शंकास्पद कारोबार र गतिविधिको सूचना पनि एकाइमा पठाउनुपर्ने व्यवस्था छ । संस्थाहरूले सीमा कारोबारको ३० दिनभित्र र शंकास्पद कारोबारको ३ दिनभित्र विवरण एकाइमा बुझाउनुपर्छ ।
एकाइको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा सूचक संस्थाहरूबाट शंकास्पद कारोबार र गतिविधिको रिपोर्टिङ २४ प्रतिशतले वृद्धि भएको छ । सूचक संस्थाहरूले आर्थिक वर्ष (आव) २०७९/०८० मा ५ हजार ९३५ ओटा सूचना पठाएकोमा २०८०/८१ मा बढेर ७ हजार ३३८ पुगेका छन् । शंकास्पद कारोबारको संख्या बढे पनि सीमा कारोबारको सूचना भने घटेको छ । आव २०७९/८० मा सीमाभन्दा बढी कारोबार भएका १६ लाख ९८ हजार सूचना वित्तीय जानकारी एकाइमा पठाएकोमा २०८०/८१ मा भने १६ लाख ९७ हजार सूचना मात्र पठाएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारणमा प्रभावकारी काम नगरेको भन्दै फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ग्रे लिस्टमा राखेपछि त्यसबाट बाहिर आउन नेपालले कार्ययोजना नै बनाएर काम गरिरहेको छ । एफएटीएफले नेपालको कार्ययोजना स्वीकृत गर्दै २ वर्षको समय दिए पनि १ वर्षभित्रै यसबाट बाहिर आउने गरी काम भइरहेको सरकारी अधिकारीहरूले दाबी गर्दै आएका छन् ।


