प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने औपचारिक भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँदिल्ली पुगेका हुन्।
प्रधानमन्त्रीको यस भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिकोणबाट मात्र नभई आर्थिक र व्यावसायिक सम्बन्ध विस्तारका हिसाबले पनि महत्त्वपूर्ण मानिएको छ। भ्रमण टोलीमा सरकारी अधिकारीसँगै निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा विभिन्न व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको छ।
प्राप्त विवरणअनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५ जना सरकारी प्रतिनिधि र निजी क्षेत्रका ५२ जना व्यवसायी सहभागी छन्। निजी क्षेत्रको सहभागिताले नेपाल र भारतबीच व्यापार, लगानी, उद्योग, पर्यटन, ऊर्जा तथा निर्यात प्रवर्द्धनका विषयलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।
निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा प्रतिनिधिहरू भ्रमणमा सहभागी भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा र महानिर्देशक डा. गोपालप्रसाद तिवारी टोलीमा छन्।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी पनि भ्रमण टोलीमा सहभागी छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले पनि निजी क्षेत्रको प्रतिनिधित्व गरेका छन्।
ऊर्जा तथा पूर्वाधार क्षेत्रबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी र निवर्तमान अध्यक्ष गणेश कार्कीसहितका प्रतिनिधि सहभागी छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि भ्रमण टोलीमा छन्।
यसैगरी निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ र नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य सहभागी छन्। कृषि तथा उत्पादनमूलक क्षेत्रबाट नेपाल कफी व्यवसायी महासंघका उपाध्यक्ष सरोज श्रेष्ठले प्रतिनिधित्व गरेका छन्।
भ्रमण टोलीमा होटल, पर्यटन, यातायात, सूचना प्रविधि, अटोमोबाइल, औषधि उत्पादन, गार्मेन्ट तथा घरेलु उद्योग क्षेत्रका प्रतिनिधिहरू पनि समेटिएका छन्। होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालका अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे टोलीमा छन्।
त्यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, नास–आइटीका उपाध्यक्ष विभूषण विष्ट, नेपाल औषधि उत्पादक संघका प्रतिनिधि अर्जुनकुमार श्रेष्ठ तथा गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष पशुपति देव पाण्डे पनि सहभागी छन्।
महिला उद्यमी महासंघ नेपालका अध्यक्ष दर्शना श्रेष्ठ र सचिव दिकिला शेर्पा लामासहित विभिन्न निजी कम्पनी तथा व्यावसायिक समूहका प्रतिनिधिहरू पनि भ्रमणमा छन्। आईएमई ग्रुप, भाटभटेनी ग्रुप र साइमेक्स इंकलगायत संस्थाका प्रतिनिधिको सहभागिताले निजी क्षेत्रको व्यापक उपस्थिति देखाएको छ।
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनिल केसी र उपाध्यक्ष करण चौधरी पनि टोलीमा छन्। नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुलीसमेत भ्रमणमा सहभागी भएका छन्।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार, लगानीका अवसर खोजी, व्यापार सहजीकरण र नेपाली उत्पादनको भारतीय बजारमा पहुँच बढाउने विषयले महत्त्व पाउने अपेक्षा गरिएको छ। निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले सरकारी तहमा हुने छलफललाई व्यावसायिक क्षेत्रका आवश्यकता र सम्भावनासँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ।


