नेपालको एक मात्र अन्तर्राष्ट्रिय ‘प्राइभेट इक्विटी फन्ड’ डोल्मा इम्प्याक्ट फन्डलाई करोडौं रुपैयाँको पुँजीगत लाभकर छुट दिने अन्तरिम सरकारको मन्त्रिपरिषद् निर्णयमा मुख्यसचिव एकनारायण अर्यालले रोक लगाएका छन्।
कात्तिक १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कर छुटको निर्णय भए पनि त्यसलाई मुख्यसचिव एकनारायण अर्यालले प्रमाणित नगरेपछि प्रस्ताव अलपत्र परेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार महान्यायाधिवक्ताको कार्यालयले छुट दिन नमिल्ने स्पष्ट राय दिएको र आयकर ऐनमा दोहोरो अर्थ लाग्ने संवेदनशीलता रहेकाले निर्णय माइन्युटमै रोकिएको हो।
डोल्मा इम्प्याक्ट फन्डले नेपालका विभिन्न कम्पनीमा गरिएको सेयर लगानीका आधारमा पुँजीगत लाभकर छुट मागेको थियो। सस्तो डिल प्रालि, श्वेतगंगा हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, सोलार फार्म, रोडोडेन्ड्रोन बायोटेक र निदान अस्पताल गरी छवटा कम्पनीको नामसहित छुट मागिएको निवेदन अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेको हो। अर्थ मन्त्रालयले यसअघि महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी राय माग्दा विदेशी स्वामित्व ५० प्रतिशतभन्दा कम भएकाले आयकर ऐनको दफा ७३ अनुसार छुट दिन नसकिने निष्कर्ष आएको थियो। राय विपरीत प्रस्ताव मन्त्रिपरिषद् पुगेपछि ‘कानुनी जोखिम’ रहेको भन्दै मुख्यसचिवले माइन्युटमा नराखेर रोकेको बताईएको छ ।
अर्थमन्त्री रामेश्वर खनाल डोल्मा इम्प्याक्ट फन्डका परामर्शदाता रहेको र मन्त्री बनेर आफैँ संलग्न कम्पनीलाई प्रत्यक्ष फाइदा हुने निर्णय गराएको आरोप लागेको छ । कर विशेषज्ञहरूले यसलाई ‘हितको द्वन्द्व’को स्पष्ट उदाहरण भन्दै आलोचना गरेका छन्। एक पूर्वअर्थसचिवका अनुसार खनालले मन्त्री बन्नुअघि नेतृत्व गरेको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनमा पनि प्राइभेट इक्विटी फन्डलाई कर छुट दिने प्रावधान समावेश गरिएको थियो, जसले विवादलाई अझ गहिरो बनाएको छ ।
सरकारले चालु आर्थिक वर्षमा एक खर्ब २५ अर्बभन्दा बढी पुँजीगत खर्च कटौती गर्दा स्थानीय तहदेखि संघसम्मका आधारभूत पूर्वाधार निर्माण रोकिएका बेला विदेशमा दर्ता भएको सेल्ल कम्पनीमार्फत लगानी ल्याउने फन्डलाई अर्बाैँ रुपैयाँ बराबरको कर छुट दिन खोजिएको भन्दै आलोचना बढेको छ । डोल्माले मकर जितुमाया सुरी हाइड्रोपावरमा सेयर बिक्री गर्दा तिर्नुपर्ने करिब २९ करोड ४४ लाख पुँजीगत लाभकरसहित अन्य आयोजनामा हुने अर्बाैँ नाफा पनि छुटयोग्य हुने अवस्था देखिएको छ। मोरिसससँगको दोहोरो करमुक्ति सन्धि नै खारेज भइसकेको स्थितिमा छुट दिने कानुनी आधार कमजोर रहेको कर विज्ञहरूको तर्क छ ।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार डोल्माले राजस्व न्यायाधिकरणमा मुद्दा गए हार्ने जोखिम देखिएकाले क्याबिनेटबाटै छुट गराउने लबिइङ भएको छ। गत सरकारका केही नेता तथा व्यापारी समूहले लामो समयदेखि यस विषयमा दबाब दिँदै आएको बताइन्छ। यसअघिका सरकारले यस्तो जोखिमपूर्ण कदम नचाले पनि अन्तरिम सरकारले सुशासनको नारा दिएर विवादास्पद निर्णय गरेको भन्दै आलोचना थपिएको छ ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीले मुख्यसचिवले माइन्युटमा हालिदिएपछि मात्र निर्णय प्रमाणित हुने स्पष्ट गर्दै अहिले कर छुटको फाइल सम्बन्धित निकायमा नजाने गरी रोकिएको जानकारी दिए। पुँजीगत कर छुटको विवाद सर्वोच्च अदालत वा राजस्व न्यायाधिकरणसम्म पुग्न सक्नेसमेत देखिएको छ ।


