Banijya News

कोरला नाकाबाट १७ सय युनिट ईभी आयात

1
1.1K Shares

मुस्ताङस्थित कोरला नाका हुँदै दुई महिनामा १ हजार ७ सय २६ युनिट विद्युतीय कार (ईभी) आयात भएका छन् । गत भदौ ३० गतेदेखि कात्तिक मसान्तसम्म चीनबाट कोरला नाका हुँदै उक्त संख्यामा ईभी नेपाल ल्याइएको हो । असोज (भदाै २ दिनसहित)मा १४९८ युनिट र कात्तिकमा २२८ युनिट ईभी भित्रिएका हुन् ।

यो यस वर्ष चिनियाँ नाकाहरू मध्येबाट आयात भएको सबैभन्दा धेरै ईभी हो । वर्षायाममा मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी बन्द हुँदा व्यवसायीले पहिलोपटक भदौ अन्तिमदेखि कोरलाबाट ईभी ल्याउन थालेका थिए । तातोपानी नाका संचालनमा आए पनि रसुवागढी अझै बन्द छ ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले २ महिनाको अवधिमा कोरला नाका हुँदै १ हजार ७२६ युनिट ईभी भित्रिएको जानकारी दिए । उनले अहिले पनि ईभी आउने क्रम जारी रहेका बताए । यद्यपि, आयात हुने संख्या भने कम रहेको उनले बताए ।

कोरला नाका हुँदै बीवाइडी एटो वान, एटो टु, जेको जे फाइफ, जे सिक्स, लीपमोटर बी १०, प्रोटोन इमास सेभेन, ओमोडा ई फाइभ र डोङफेङ ईभी आयात भएका हुन् ।

त्यस्तै, दुई महिनाको अवधिमा चीनबाट कोरला नाका हुँदै ९३१ वटा मालवाहक ढुवानी कन्टेनर आएको उनले जानकारी दिए । व्यवसायीहरूले कोरलाबाट लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक लगायत सामान ल्याएका हुन् ।

कोरलाबाट सामान आयात मात्र होइन निर्यात पनि भएको छ । २ महिनाको अवधिमा नेपालबाट ५५ कन्टेनर सामान चीनतर्फ निर्यात भएको उनले जानकारी दिए ।

ठूलो परिमाणमा ईभी र मालवस्तु आयात हुँदा उल्लेख्य मात्रमा राजस्व संकलन भएको छ । २ महिनामा ३ अर्ब ६८ करोड १७ लाख ९८ हजार ५३० हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको उनले बताए ।

भन्सार विभागले भदौ अन्तिम साता मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान गरी संचालनमा ल्याइएको थियो ।

त्यस्तै, चीनबाट आयात गरिएको सामानको सहज जाँचपासका लागि प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र-२०८१ मा समावेश गरी सहजीकरण गरिएको छ । लोमान्थाङमा रहेको प्रभु बैंकबाट भन्सार राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

1

Scroll to Top