चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कुल राजस्वमा २ प्रतिशत भन्दा बढी योगदान गरेको दाबी गरेको छ।
राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्याएको कम्पनीले जारी विज्ञप्तीमा उल्लेख छ।
गत आर्थिक वर्ष २०८०/८१ मा १८.५२ अर्ब कर तिरेको चौधरी ग्रुपले यस वर्ष ७ अर्ब बढी कर तिरेको हो। योसँगै गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ जनाएको छ।
कमजोर आर्थिक गतिविधि, आयात-निर्भर बजार, नीतिगत अस्थिरता तथा निजी लगानीमा आएका बाधाका बाबजुद पनि चौधरी ग्रुपले निरन्तर करमा वृद्धि गर्दै आएको कम्पनीको भनाइ छ।
राष्ट्रका विकास योजनाहरू, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा सार्वजनिक सेवाका क्षेत्रमा राज्यलाई थप आधार प्रदान गर्ने चौधरी ग्रुपले विश्वास लिएको विज्ञप्तीमा उल्लेख गरेको छ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार, चौधरी ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तारमार्फत राजस्व योगदान बढाउँदै लगिरहेको छ। ‘ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभारी छौँ,’ निर्वाणले सामाजिक संजालमा लेखेका छन्, ‘गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको उल्लेखनीय योगदान गरेको छ। चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ।’
नेपालमा व्यवसायिक समूहहरूले सरकारलाई तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा अझै स्थापित नभएकाले कतिपय समयमा करदाताको वास्तविक योगदानबारे जनमानसमा भ्रम उत्पन्न हुनेगर्छ।
यस्तो अवस्थालाई अन्त्य गर्दै चौधरी ग्रुपले हरेक वर्ष आफ्नो एकमुष्ट कर विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको समेत विज्ञप्तीमा उल्लेख छ।
यसले राष्ट्र निर्माणमा व्यवसायिक क्षेत्रको भूमिकालाई स्पष्ट पार्नुका साथै, सरकारलाई पनि समूहगत कर योगदान छुट्टै गणना गरी पारदर्शी रूपमा खुलाउने संयन्त्र विकास गर्न प्रेरित गर्न समेत आग्रह गरेको छ।
कम्पनीले आर्थिक वर्ष ०७७/०७८ मा १४.२८ अर्ब, ०७८/०७९ मा १७.७२ अर्ब, ०७९/०८० मा १६.१४ अर्ब, ०८०/०८१ मा १८.५२ अर्ब र ०८१/०८२ मा २५.५९ अर्ब कर तिरेको जनाएको छ। जुन सरकारी राजस्वमा क्रमश १.७, १.८, १.८, १.९ र २.४ प्रतिशत योगदान रहेको समेत कम्पनीको दाबी छ।


