हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङसहितको ‘जेनजी’ टोली वार्ताका लागि जिल्ला प्रशासन कार्यालय बारा जाँदै छ ।
सुधन पुगेपछि मधेस प्रदेश जेनजी टिम जिल्ला प्रशासन कार्यालय बारामा वार्ताका लागि जान लागेको हो । प्रशासनले ३ बजे बोलाएको वार्तामा ढिला गरी जाने मधेस प्रदेश संयोजक शिव यादवले जानकारी दिए ।
बुधबार नेकपा (एमाले) का कार्यकर्ता र जेनजीबीच सिमरामा झडप भएको थियो । जेनजीले सिमरा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए । आफूहरूमाथि कुटपिट गरिएको भन्दै जेनजीले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका थिए ।
त्यसपछि प्रशासनले तनावपूर्ण अवस्था अन्त्यका लागि बिहीबार (मंसिर ४) सम्बन्धित पक्षलाई वार्तामा बोलाएको थियो । तर, घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने अडानसहित जेनजी प्रतिनिधिहरू वार्तामा गएका थिएनन् । आफूहरूले दिएको उजुरीका आधारमा सबैलाई पक्राउ गर्नुपर्ने माग उनीहरूले राखेका थिए ।


