खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले डेढ महिनामा लक्ष्यको ४७.३६ प्रतिशत धान खरिद गरेको छ । कम्पनीले यस वर्ष कुल १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा कात्तिक ११ देखि मंसिर २२ गतेसम्म ९० हजार क्विन्टल धान खरिद गरेको हो ।
कम्पनीका खरिद व्यवस्थापन शाखा प्रमुख अनन्तराज पौडेलका अनुसार, डेढ महिनामा करिब आधा खरिद भएकाले अबको डेढ महिनामा लक्ष्यको शतप्रतिशत वा कम्तीमा ९० प्रतिशत धान खरिद हुने अनुमान छ ।
पौडेलका अनुसार, कम्पनीले धान खरिदका लागि ७० करोड रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष कम्पनीले ७ लाख ३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर २ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । गत वर्ष व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर किसानको धान किनेपछि कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सकेको थिएन । गत वर्ष कम्पनीले लक्ष्यको १७ प्रतिशत मात्र अर्थात् १ लाख २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । यो वर्ष भने व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा कम मूल्य दिएका छन् । यसो हुँदा कम्पनीलाई लक्ष्य पूरा गर्न समस्या नहुने देखिन्छ ।
पौडेलले भने, ‘डेढ महिनामा करिब आधा खरिद गर्दा अबको डेढ महिनामा शत् प्रतिशत पुग्ने अनुमान गरेका छौँ, त्यत्ति नभए पनि ९० प्रतिशत भने अवश्य खरिद हुनेछ ।’ सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीले यस वर्ष सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर विभिन्न १३ केन्द्रमार्फत धान खरिद गर्दै आएको छ ।
कम्पनीले महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरेको छ । धान खरिद गर्दा किसान सुचीकरण फारम भरी प्रमाणित गरी एक प्रति किसानलाई दिने र एक प्रति खरिद केन्द्रले अभिलेखका रुपमा राख्ने प्रबन्ध गर्दै धान खरिद गरिदै आएको पौडेलले जानकारी दिए ।
‘महेन्द्रनगर र धनगढीमा धान खरिद प्रक्रिया पुरा भइसकेको छ भने अन्य क्षेत्रमा अझै आधा भन्दा बढी धान खरिद हुन बाँकी छ । सोही आधारमा लक्ष्य अनुसारको खरिद गर्न सक्ने अनुमान गरेका हौँ’ पौडेलले भने ।


