नेकपा एमालेको ११ औं महाधिवेशनका लागि दुई वटा प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानल नै बनेर निर्वाचनमा होमिन लागेका हुन्।
पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तयार गर्ने क्रम जारी रहेको छ। ओलीपक्षबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले उम्मेदवारी दिने भएका छन्। अन्य पदाधिकारीको अन्तिम नामवली पनि तयार भइरहेको छ। स्रोतका अनुसार अन्तिम समयमा केही नाम हेरफेर पनि हुन सक्छ।
एमालेले जारी ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयनका लागि फारम विवरण भइरहेको छ।
क-कसले दिँदैछन् उम्मेदवारी ?
ओली पक्षबाट अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दिँदैछन् । उपाध्यक्ष पदका लागि विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, गुरुप्रसाद बराल, प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बनेका छन् ।
महासचिव पदमा शंकर पोखरेलले उम्मेदवारी दिने भएका छन् । उपमहासचिव पदका लागि विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाल मैदानमा छन् । सचिव पदमा भने लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, डा. राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेत उम्मेदवार छन् ।


