नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङसँग विशेष भेटवार्ता गरेका छन्। आज बिहान सिंहदरबारस्थित ऊर्जा मन्त्रालय पुगेका राजदूत थम्पसन र मन्त्री घिसिङबीच करिब पौने घण्टा गोप्य कुराकानी भएको हो। घिसिङले हाल ऊर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन महत्त्वपूर्ण मन्त्रालयको कार्यभार सम्हालिरहेका छन्।
भेटका क्रममा नेपालको ऊर्जा क्षेत्रको विकास, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्था र द्विपक्षीय हितका विषयमा छलफल भएको बुझिएको छ। राजदूत थम्पसनले पछिल्ला दिनहरूमा सरकारका उच्च पदस्थ अधिकारी र नियामक निकायका प्रमुखहरूसँगको भेटघाटलाई तीव्र पारेका छन्। यसै सिलसिलामा उनले हिजो मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग पनि भेटघाट गरेका थिए।
राजदूतको यो बढ्दो सक्रियतालाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी विकास परियोजनाहरूको गति र आर्थिक स्थायित्वका विषयमा अमेरिकी चासो बढ्दै गएको यस भेटघाटले संकेत गरेको छ।


