राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उज्यालो नेपाल पार्टीका संयोजक तथा उर्जामन्त्री कुलमान घिसिङबीच भएको एकताले राजनीतिक वृत्तमा नयाँ तरङ््ग छाएको छ । नयाँ शक्तिहरुबीच एकता भएसँगै आउँदो निर्वाचनमा शक्ति समीकरण बदलिन सक्ने आँकलन गरिएको छ ।
आउँदो फागुन २१ मा हुने निर्वाचनबाट बहुमत ल्याउने दाबी गरेको रास्वपा २०७९ को निर्वाचनमा चौथो शक्ति रहेको थियो । सोही वर्ष भएको स्थानीय तहको निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल बालेन साह युवा पुस्तामाझ लोकप्रिय छन् । अहिले रबिले पार्टीको नेतृत्व गर्ने र प्रधानमन्त्रीमा बालेनलाई अघि सार्ने सहमति भएको छ । उता, भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि गठित सरकारमा उर्जामन्त्री रहेका कुलमान घिसिङलाई लामिछानेपछिको दोस्रो वरियतामा रहने गरी उपसभापति दिइएको छ ।
त्यसो त, जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको एकताले मधेसमा उत्साह बढाएको छ । प्रतिनिधिसभा निर्वाचनकै सम्मुख मधेसवादी दुई ठूला दलबीचको एकताले प्रदेशकै राजनीतिमा हलचल बढाएको हो ।
पछिल्लो पार्टी एकताले मधेसको राजनीतिक समीकरण नै बदलिदिएको छ । दुवै पार्टी मिल्दा मधेस प्रदेशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्न सफल भएको देखिन्छ । यसले आम कार्यकर्तापङ्क्ति उत्साहित भएका छन् । पछिल्लो राजनीति घटनाक्रमले संघीयता, समावेशिता र समानुपातिक प्रणाली खतरामा परेको भन्दै यी दुई दलले एकता गर्ने निर्णय गरेका हुन् ।
जसपा नेपालसँग एकता गर्नुअघि लोसपा नेपालसँग बृशेषचन्द्र लाल नेतृत्वको तमलोपा र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले एकता गरेका थिए । अहिले जसपा नेपाल र लोसपा नेपालबीच एकता भएपछि जनता समाजवादी पार्टी नेपाल मधेसमा एक बलियो राजनीतिक शक्ति बन्न सफल भएको छ ।
मधेसवादी राजनीतिक दलमा जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एकता प्रक्रियामा सामेल भएका छैनन् । यद्यपि यी दलका नेता पनि जसपा नेपाल र लोसपा नेपालबीचको एकतालाई राम्रो र सकारात्मक भएको बताउँछन् । यद्यपि, यस्ता एकता विगतमा पटक–पटक भए पनि दिगो हुन नसकेकाले अहिलेको एकता कति टिक्छ भन्नेमा आशंका हुनु स्वाभाविक मानिन्छ ।
यसैगरी, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पुस १६ गते एकता घोषणा सभा हुँदैछ । पुस ९ गते यी दुई दलबीच एकता गर्ने सहमति भएको थियो । पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वअध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए । थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।


