निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आयोगले सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको बताएका छन्।
आयोगले शुक्रवार आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले सूचना प्रविधिको प्रोत्साहन र हरित निर्वाचनमा जोड दिएर आयोगले निर्वाचन आचारसंहिता जारी गरेको जानकारी दिए । सूचना प्रविधिको प्रयोगलाई अवसरका रूपमा लिएर आगामी निर्वाचनलाई हरित निर्वाचनको रुपमा गर्न लागिएको उनको भनान छ।
उनले सूचना प्रविधिको दुरुपयोगमा पनि आयोगले विशेष ध्यान दिने बताए। प्रवक्ता भट्टराईले सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोगले निर्वाचनलाई प्रभावकारी बनाउन सहयोग पु¥याए पनि यसले चुनौतीसमेत थप्ने भएकाले आचारसंहितामार्फत दुवै पक्षलाई समेटिएको जानकारी दिए।
यसपटकको निर्वाचन आचारसंहिताले ‘हरित निर्वाचन’को अवधारणालाई प्राथमिकतामा राखेको छ। विगतमा जस्तै ठूलो मात्रामा प्रचार पम्पलेट, झण्डा र अन्य भौतिक सामग्री प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिएको उनले जानकारी दिए।
विद्युतीय माध्यममार्फत प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई प्रोत्साहन गरिएको उनको भनान छ। तर विद्युतीय माध्यम प्रयोग गर्दा मानहानी हुने, मिथ्या तथा भ्रामक सूचना प्रसारण गर्ने गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिने उनले प्रष्ट पारे।
यस्ता गतिविधि भएको खण्डमा कानुनी दायरामा ल्याइने व्यवस्था पनि आचारसंहितामा समेटिएको उनले जानकारी दिए। विशेषगरी एआई प्रयोग गरेर डिपफेक सामग्री उत्पादन हुन नदिन आयोग गम्भीर रहेको उनले बताए।
हरित निर्वाचनलाई कार्यान्वयन गर्न आयोगले निर्वाचन सामग्री उपलब्ध गराउँदा सकेसम्म प्लाष्टिक तथा वातावरण प्रदूषण गर्ने सामग्रीको प्रयोग कम गर्ने नीति लिएको पनि जानकारी दिए।
प्रयोग गर्नैपर्ने सामग्रीको हकमा पनि वातावरणलाई कम हानी गर्ने गुणस्तरका सामग्री छनोट गरिने उनको भनाइ छ।
यसमा राजनीतिक दल, उम्मेदवार र सम्बन्धित संघसंस्थाले पनि प्रचारप्रसारका क्रममा वातावरणमैत्री सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।


