नेपालमा जलविद्युत क्षेत्रका कम्पनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ठूलो मात्रामा पूँजी संकलन गरेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६१/६२ देखि २०८१/८२ सम्म जलविद्युत कम्पनीहरूले आईपीओमार्फत करिब ४१ अर्ब रुपैयाँ बराबरको पूँजी जुटाएका छन्। सेबोनको नियमनअनुसार प्रत्येक जलविद्युत कम्पनीले अनिवार्य रूपमा आईपीओ ल्याउनुपर्ने व्यवस्था छ।
यही व्यवस्थाअनुसार हालसम्म सेबोनले जलविद्युत क्षेत्रका १२६ वटा आईपीओ स्वीकृत गरिसकेको छ। तर एउटै कम्पनीले कर्मचारी, स्थानीय बासिन्दा र सर्वसाधारणका लागि छुट्टाछुट्टै आईपीओ निष्कासन गर्ने भएकाले वास्तविक रूपमा आईपीओ ल्याउने कम्पनीको संख्या ९१ मात्र रहेको छ।
आईपीओ निष्कासनमा उतारचढाव
नेपालमा जलविद्युत क्षेत्रको पहिलो आईपीओ आर्थिक वर्ष २०६१/६२ मा जारी भएको थियो, जसको आकार २३ करोड ७४ लाख रुपैयाँ थियो । त्यसपछि २०६५/६६ पछि आईपीओको आकार क्रमशः बढ्दै जान थालेको छ । आर्थिक वर्ष २०७१/७२ मा आईपीओमार्फत संकलित रकम एकै वर्षमा पहिलो पटक ४ अर्ब रुपैयाँ नाघेको थियो । ईप्पानले गरेको एक अध्यन अनुसार २०७२/७३ देखि २०७५/७६ सम्म जलविद्युत कम्पनीहरूको आईपीओ निष्कासनमा उल्लेखनीय वृद्धि देखिएको छ ।
विशेषगरी २०७५/७६ मा १६ वटा कम्पनीले ६ अर्ब ८७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेका थिए । तर त्यसपछिको वर्ष २०७६/७७ मा यो क्रम कमजोर हुँदै चार वटा कम्पनीबाट मात्र १ अर्ब २० करोड रुपैयाँ संकलन भएको थियो । पछिल्ला वर्षहरूमा पुनः सुधार देखिँदै २०७९/८० मा आईपीओ निष्कासन उच्च बिन्दुमा पुगेको थियो । सो वर्ष २९ वटा कम्पनीले ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याएका थिए । तर त्यसपछि भने अवस्था फेरि कमजोर बन्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा प्रत्येक वर्ष एक–एक कम्पनीले मात्र आईपीओ निष्कासन गरेका छन् ।
९१ वटा जलविद्युत कम्पनीमा करिब ८९ लाख ८६ हजार सेयरधनी
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जलविद्युत कम्पनीहरूमा सेयरधनीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। सन् २०२५ फेब्रुअरी २ सम्मको विवरणअनुसार हाल नेपालमा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीमा करिब ८९ लाख ८६ हजार सेयरधनी रहेका छन्। मध्य भोटेकोशी जलविद्युत, साहस ऊर्जा र मोदी इनर्जी जस्ता कम्पनीमा सेयरधनीको संख्या सबैभन्दा बढी छ। मध्य भोटेकोशी जलविद्युतमा हाल ७ लाख ११ हजारभन्दा बढी सेयरधनी रहेका छन्, जुन हालसम्मकै उच्च संख्यामध्ये एक हो। यस्तै, साहस ऊर्जा र मोदी इनर्जीमा पनि लाखौँ लगानीकर्ता आबद्ध छन्।
ईप्पानले गरेको एक अध्यन अनुसार आईपीओको समयमा आम नागरिकको सहभागिता अत्यन्त उच्च भए पनि सूचीकृत भएपछि धेरै लगानीकर्ताले सेयर बिक्री गर्ने प्रवृत्ति रहेको देखिएको छ । मध्य भोटेकोशी जलविद्युत, साहस ऊर्जा र मोदी इनर्जी जस्ता कम्पनीमा सर्वसाधारणको सहभागिता उल्लेखनीय रहेको रहेको छ ।

हकप्रद सेयरमार्फत पूँजी व्यवस्थापन
आईपीओ निष्कासनपछि धेरै जलविद्युत कम्पनीहरूले दीर्घकालीन पूँजी आवश्यकता पूरा गर्न हकप्रद सेयर लाई प्रमुख वित्तीय साधनका रूपमा प्रयोग गर्न थालेका छन्। निर्माण सम्पन्न भइसकेपछि पनि जलविद्युत आयोजनामा ऋणको किस्ता भुक्तानी, ब्याज खर्च, मर्मतसम्भार तथा नयाँ आयोजना विकासका लागि थप पूँजी आवश्यक पर्ने भएकाले कम्पनीहरू हकप्रद सेयरतर्फ आकर्षित भएका हुन्।
हालसम्म २० भन्दा बढी जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गरी करिब ४५ अर्ब रुपैयाँभन्दा बढी पूँजी संकलन गरिसकेका छन्। यसबाट कम्पनीहरूको चुक्ता पूँजी वृद्धि हुनुका साथै बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालीन ऋणको दबाब कम गर्न सहयोग पुगेको देखिन्छ ।

हालै गरिएको नियामकीय व्यवस्था संशोधनले दीर्घकालीन ऋण भुक्तानीका लागि पनि हकप्रद सेयर निष्कासन गर्न सकिने व्यवस्था लागू भएको छ । यसअघि नयाँ जलविद्युत आयोजना वा क्षमता विस्तारका लागि मात्र हकप्रद सेयर जारी गर्न पाइने व्यवस्था थियो ।


