कालंगा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रूपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रूपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये स्थानीय बासिन्दाका लागि १४ लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ५० हजार कित्ता शेयर बाँडफाँट भइसकेको छ। यसैगरी, सामूहिक लगानी कोषका लागि १ लाख ९५ हजार कित्ता र कर्मचारीका लागि १ लाख ५ हजार कित्ता शेयर छुट्याइएको थियो।
अब दोस्रो चरणमा सर्वसाधारणका लागि २८ करोड ७० लाख रूपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर निष्कासन हुन लागेको हो । यसमा प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्य कायम गरिएको छ। लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम मिति जेठ १३ गतेसम्म तोकिएको छ भने सो मितिसम्म सम्पूर्ण शेयरका लागि आवेदन नपरेमा जेठ २२ गतेसम्म समय थपिनेछ।
उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनलाइन प्लेटफर्म ुमेरो सेयरु को प्रयोग गरेर पनि सहजै आवेदन पेस गर्न सकिन्छ।
कम्पनीको वित्तीय तथा व्यवस्थापकीय क्षमताको मूल्यांकन गर्दै केयर रेटिङ नेपालले ुकेयर एनपी डबल बी इस्युअरु रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ। जलविद्युत क्षेत्रमा लगानी गर्दा दीर्घकालीन रूपमा ऊर्जा उत्पादन र आपूर्ति शृंखलाको निरन्तरताले राम्रो प्रतिफल दिने सम्भावना रहन्छ। बढ्दो ऊर्जाको माग र जलविद्युत आयोजनाहरूको व्यावसायिक सफलतालाई हेर्दा, दीर्घकालीन लगानीका लागि यो एउटा महत्त्वपूर्ण र आकर्षक अवसर बन्न सक्ने देखिन्छ।


