Banijya News

बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1
1.0K Shares

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको हो।आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले यस चरणमा ८ करोड ६३ लाख २० हजार रुपैयाँबराबरको सेयर बिक्रीमा ल्याएको छ। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले कुल २० लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यो कम्पनीको जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत हो। त्यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता, कम्पनीका कर्मचारीका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता छुट्याइएको थियो।

यी समूहमा सेयर निष्कासन तथा बाँडफाँट सम्पन्न भएपछि बाँकी रहेको ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।आईपीओमा आवेदन दिन लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गर्न सक्नेछन्। साथै, ‘मेरोसेयर’मार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ।

बेनी हाइड्रोपावरले सोलुखुम्बुमा १९।८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको कम्पनीले जनाएको छ।आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको छ। विद्युत् उत्पादन अनुमतिपत्रको अवधि अझै २४ वर्ष बाँकी रहेको कम्पनीले जनाएको छ।

कम्पनीको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँभन्दा बढी छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ।

आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीले आईपीओबाट प्राप्त रकम बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ। सर्वसाधारणबाट उठ्ने रकम आयोजनामा रहेको ऋणको दायित्व व्यवस्थापनमा प्रयोग हुने भएकाले यसबाट कम्पनीको वित्तीय संरचना सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सेयर सूचीकृत भएपछि पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थका आधारमा ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेन्ज तोकिनेछ।

 

1

Scroll to Top