तुँदी पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया आधिकारिक रूपमा अगाडि बढाएको छ। कम्पनीले यस आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडलाई सुम्पेको छ।
यससम्बन्धी सम्झौतापत्रमा तुँदी पावरका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन । सम्झौताअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १ करोड कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो। उक्त शेयरहरू वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपाली, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कम्पनीका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारण नागरिकका लागि छुट्याइने कम्पनीले जनाएको छ।
जलविद्युत उत्पादन क्षेत्रमा सक्रिय तुँदी पावर कम्पनीले म्याग्दी जिल्लास्थित राहुघाट नदीको पानी उपयोग गरी दुईवटा ठूला आयोजनाहरू निर्माण सम्पन्न गरिसकेको छ। जसमा ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले र ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत आयोजना रहेका छन् । यी दुवै आयोजनाहरूबाट २०८२ साल साउन २० गतेदेखि नै व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु भइसकेको छ।
हाल यहाँबाट उत्पादित विद्युतलाई राहुघाट जलविद्युत आयोजनाको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर सफलतापूर्वक बिक्री वितरण समेत भइरहेको कम्पनीले उल्लेख गरेको छ।


