मान्छे दुखी हुँदा, रिसाउँदा र धेरै खुसी हुँदा रुने गरेको देखिन्छ। मान्छेको आँखाबाट मात्रै त्यस्तो आँसु झर्छ जुन भावनासँग सम्बन्धित हुन्छन्। कैयौँ जनावर तनाव वा पीडाको संकेत दिंदै रुँदै कराउँछन् तर अनुसन्धानलाई पछ्याउँदा तिनीहरूको दिमागमा त्यो संयन्त्र छैन जसले भावनासँग सम्बन्धित आँसु निकालोस्।
आँसु किन आउँछ भन्नेबारेमा वैज्ञानिकहरुलाई थाहा छ तर मान्छेहरु किन रुन्छन् वा तिनीहरू किन भावनात्मक आँसु निकाल्छन् भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन।
आँसु आउनुको कारण के हो?
स्वीजरल्याण्डको इन्स्टीच्यूट अफ ह्युमन बायोलोजीमा पोस्टडक्टोरल फेलो डा. मेरी बानियर हेलुएटका अनुसार कफ, इलेक्ट्रोलाइट्स, पानी, प्रोटिन र लिपिड गरी पाँच घटकहरू मिलेर आँसु बनेको हुन्छ। यी प्रत्येक घटकहरूका फरक–फरक गुण हुन्छन्।
उदाहरणका लागि प्रोटिन एन्टिभाइरल र एन्टीब्याक्टेरियला जब कि इलेक्ट्रोलाइटहरू शरीरका कामहरूसँग जोडिएका जरुरी खनिज हुन्।वैज्ञानिकका अनुसार आँसु तीन प्रकार छन्। हाम्रो आँखाको तल्लो सतहमा बेसल टियर्स सधैं हुन्छन्, जसले आँखालाई ओसिलो राख्छन्। रिफ्लेक्स टियर्स कुनै किरा वा धुलोको कण हाम्रो आँखामा प्रवेश गर्दा स्वतः आफैं बग्छन्। आँखाको कोर्नियामा रहेका स्नायु कोषहरूले यसलाई महसुस गर्छन्। तिनीहरूको तहले हाम्रो आँखालाई धुलो र फोहोरबाट जोगाउने काम गर्छ।
ब्यानिअर–हेलोएटका अनुसार, कोर्नियामा पूरै शरीरमा स्नायु कोषहरूको सबैभन्दा बढी स्नायु कोसिकाहरु पाइन्छन्, यी कोषहरूले तापक्रम, मेकानिकल तनाव र सुख्खापन महसुस गर्न सक्छन्। स्नायु कोषहरूबाट सन्देश पुग्ने स्थानलाई अश्रु न्यूक्लियस भनिन्छ, जसले आँसुको प्रवाहलाई नियन्त्रण गर्छ।
इमोसन्सका कारण निस्कने आँसु
तेस्रो प्रकारको आँसु भावनाको कारण निस्कन्छन् र यहीँ आएर चीज सबैभन्दा जटिल हुन्छन्। भावनालाई प्रशोधन गर्ने हाम्रो मस्तिष्कका हिस्सा पनि लेक्रिमल न्यूक्लियससँग सञ्चार गर्छन्। यद्यपि, तिनीहरूको प्रशोधन बढी जटिल हुन्छ। नेदरल्याण्ड्सको टिलबर्ग विश्वविद्यालयका मनोविज्ञानका सेवानिवृत्त प्राध्यापक एड भिङ्गरहोएट्सका अनुसार रुनुले एउटा भावनाको सट्टा भावनाको ओभरलोडलाई प्रकट गर्दछ।
“भावना विरलै स्पष्ट रूपमा बुझिन्छन्। तिनीहरू तीव्ररूपमा परिवर्तन हुन्छन् र धेरै भावना पनि एकैसाथ जम्मा हुन्छन्”‚ उनले भने‚ “उमेर बढ्दै जाँदा, रुनुको हाम्रो भावनात्मक कारण पनि परिवर्तन हुन्छन्। बच्चाहरू रुनुको मुख्य कारण शारीरिक पीडा अर्थात् दुखाइ हो, तर वयस्क र वृद्धहरूमा यो कम हुन्छ।”
उनका अनुसार उमेर बढ्दै जाँदा, रुनु सहानुभूतिसँग सम्बन्धित हुन्छ; हामी आफ्नै पीडामा मात्र होइन, अरूको पीडामा पनि रुन्छौं। भिङ्गरहोएट्स भन्छन्‚ “प्रकृतिको सुन्दरताबाट उत्पन्न हुने सकारात्मक भावनाहरूले पनि हाम्रो आँखामा आँसु ल्याउन सक्छ।”
रोएर राहत मिल्छ ?
धेरै मानिसहरूले रोएपछि राहत महसुस गर्ने बताउँछन् तर यो सत्य हो कि होइन भन्ने अझै पनि बहसको विषय हो। अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयकी सहप्राध्यापक लरेन बिल्स्मा, मुटुको धड्कन निगरानी गरी “मान्छेलाई रोएर राम्रो महसुस हुन्छ कि हुँदैन” भन्ने बारेमा पत्ता लगाउने प्रयास गरिरहेकी छिन्।
इलेक्ट्रोकार्डियोग्रामले हाम्रो मुटुको धड्कन रेकर्ड गर्छ, जसले हाम्रो स्नायु प्रणाली कसरी काम गरिरहेको छ भनेर बुझ्न मद्दत गर्छ। रुनुभन्दा ठिकअघि प्रतिक्रिया दिन जिम्मेवार हाम्रो सिम्प्याथेटिक स्नायु प्रणाली चरम सीमामा पुग्छ भनेर उनको प्रारम्भिक नतिजाहरूले देखाउँछ।
“रुन सुरु हुनेबित्तिकै प्यारासिम्पेथेटिक गतिविधिमा वृद्धि हुन्छ। यो हाम्रो स्नायु प्रणालीको त्यो शाखा हो जसले हामीलाई शान्त र आराम गर्न मद्दत गर्छ”‚ उनले भनिन्। तर भिङ्गरहोएट्सले रोएर सधैँ (खासगरी जब हामी निराश वा तनावग्रस्त हुन्छौं) राम्रो महसुस नहुने बताए।
“राम्रो महसुस हुने नहुने हामीलाई के ले रुवाइरहेको छ भन्ने कुरामा पनि निर्भर गर्दछ।
सामान्यता हामी त्यो बेला रुँदा राम्रो महसुस गर्छौ, जब त्यो परिस्थिति हाम्रो नियन्त्रणमा हुन्छ तर नियन्त्रण बाहिरको परिस्थितिमा रुँदा यस्तो हुँदैन” उनले भने। उनको भनाइमा यसैगरी हाम्रा वरपरका मानिसहरूले पनि फरक पार्छन्। “यदि उनीहरूले बुझेर प्रतिक्रिया दिए, सहयोग दिए भने, हामीलाई राम्रो महसुस हुन्छ तर उनीहरू रिसाउँछन् वा लज्जित महसुस गर्छन् भने, कुनै राहत हुँदैन।
सामाजिक प्रभाव
इजरायली प्रयोगशालामा एउटा अध्ययन गरिएको थियो। उक्त अध्ययनका क्रममा केही पुरुषलाई महिलाको भावनात्मक आँसु सुँघ्न लगाइएको थियो। ती पुरुष अन्य नुनिलो पानीको घोल सुँघ्न दिइएका पुरुषभन्दा कम आक्रामक देखिए। आँसु सोसल सिग्नल अर्थात् सामाजिक संकेतको रूपमा काम गर्छ, जसले हामीलाई मद्दतको आवश्यकता छ भनेर पत्ता लगाउँछ र यसले अरूलाई मद्दत गर्ने इच्छा पनि बढाउँछ भनेर उक्त अध्ययनले निष्कर्ष निकाल्यो। रोइरहेका बच्चाहरूको कुरा गर्दा, शिशुको रुवाइले वयस्कहरुको मस्तिष्कको केही भागलाई एक्टिभ गर्ने र यससँगै हेरचाह गर्ने कार्यलाई ट्रिगर गर्छ भन्ने प्रमाण भेटिए।
“आमाबुबामा निर्भर हुने बाल्यकाल लामो हुने भएकाले सायद मान्छेमा आँसुको विकास भएको हुन सक्छ” भिङ्गरहोट्स भन्छन् “एउटा सिद्धान्त यो हो कि बच्चाहरूको आँसुले वयस्कहरूमा आक्रामकता कम गर्न मद्दत गर्दछ। किनभने ठूलो स्वरले रुनु धेरै पीडादायी हुन्छ र हामीलाई आक्रामक बनाउन सक्छ।”
यसले बच्चाको लागि आत्मरक्षाको एक रूपको रूपमा काम गर्ने उनी बताउँछन्।
केही मान्छे किन धेरै रुन्छन्?
बिल्स्माका अनुसार पुरुषहरू औसत महिनामा शून्यदेखि पाँच पटक रुन्छन्, जब कि महिलाहरू चारदेखि पाँचपटक रुने गर्छन्। “महिलाहरू सामान्यतया भावनात्मक रूपमा बढी प्रतिक्रियाशील हुन्छन्। यो स्नायु सम्बन्धी भिन्नता, हर्मोनल भिन्नता वा व्यक्तित्व भिन्नताका कारण हुन सक्छ” उनले भनिन् “हाल महिनावारीको समयमा हर्मोनल परिवर्तनहरूले हाम्रो रुवाइलाई असर गर्छ भन्ने कुनै बलियो प्रमाण छैन।”
गर्भावस्था र बुढ्यौली जस्ता कारकहरूले पनि योगदान पुर्याउँछ, त्यसकारण यसमा हर्मोनले भूमिका खेल्न सक्ने उनी बताउँछिन्। रुनु पनि स्नायु सम्बन्धी वा बहिर्मुखी व्यक्तित्वसँग जोडिएको छ भनेर उनको अनुसन्धानले पत्ता लगाएको छ। “न्यूरोटिक स्वभाव डिप्रेसन र चिन्तासँग सम्बन्धित छ। सहानुभूति अधिक भएका मान्छेमा रुने सम्भावना पनि धेरै हुन्छ। सायद तिनीहरू अरूलाई कठिनाइको सामना गरिरहेको देखेर प्रतिक्रियामा रुन्छन् भन्ने हामीले पायौँ”‚ उनले भनिन्।


