नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मुम्बईको वानखेडे स्टेडियममा आईसीसी टी–२० विश्वकप अन्तर्गत महत्वपूर्ण खेल खेल्दैछ । उक्त अवसरमा प्रधानमन्त्री शुसीला कार्कीले राष्ट्रिय टोलीलाई शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्रीले आज वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिने र त्यो स्वर विश्वभर फैलिने उल्लेख गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी हुन् ।
तेस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाइरहेको नेपालले यसअघि देखाएका ऐतिहासिक प्रदर्शन र सफलताले टोलीको मनोबल उच्च रहेको प्रधानमन्त्रीको भनाइ छ । साथै, विश्वभर फैलिएका नेपाली प्रशंसकहरूको साथ टोलीका लागि ठूलो प्रेरणा भएको उल्लेख गरेकी छन् l आज इंग्ल्यान्डसँग हुन गइरहेको ऐतिहासिक खेलअघि प्रधानमन्त्रीले सम्पूर्ण राष्ट्रको तर्फबाट नेपाली टोलीलाई हार्दिक शुभकामना व्यक्त गर्दै विजयको कामना गरेकी छन् ।
क्रिकेट खेल मात्र होइन, हाम्रो प्रगतिको पहिचान र स्वाभिमान हो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ रहेको दाबी गरेका छन् । टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई भिडियोमार्फत शुभकामना दिँदै ओलीले क्रिकेट एउटा खेल मात्रै नभैइ, नेपालको लागि प्रगतिको पहिचान र स्वाभिमान पनि भएको बताएका छन् । उनले भनेका छन्, ‘अहिले मुम्बईमा टी २० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु, हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो । त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घुमिरहेका छन् । खेलाडी हरुको मेहनत र पसिनाका लागि हामी रंगशाला जस्तै पूर्वाधार निर्माण गरेर तिर्नुपर्छ, सहयोग पु¥याउनुपर्छ ।’
ओलीले रोहित पौडेल नेतृत्वको नेपाली टोलीले देशको शिर उच्च राख्ने विश्वास व्यक्त गरे । मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका नेपालीहरूको समेत साथ रहेको बताए । उनले भनेका छन्,‘तपाईंहरूको साथमा मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका समेत नेपालीहरूको साथ छ, हामी तपाईंहरूका साथमा छौँ। विपक्षी जतिसुकै बलियो होस्, तपाईँहरूले विपक्षीको हिसाब गर्ने होइन, आफूमा कुनै प्रकारको हीनताबोधी ग्रन्थ पलाउन दिने होइन,नेपाली युवाको रगत र आत्मविश्वास तपाईंहरुसँग छ। उचाई चढ्दै गरेको श्रृखला तपाईंहरुको साथमा छ।’
अध्यक्ष ओलीले नेपालले यसपटक नयाँ कीर्तिमान रच्ने विश्वास व्यक्त गरे । उनले भने,‘प्रिय क्याप्टेन रोहित पौडेलको नेतृत्वको नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्नेछ र नेपालको शिर ठाडो बनाउनेछ ।’ हार जित खेलको पाटो भए पनि जित्ने उद्देश्यका साथ मैदान उत्रिनुपर्नेमा उनले जोड दिए।


