नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणका लागि आज दिउँसो १ बजेदेखि खेलाडीहरूको अक्सन (बोलकबोल) सुरु हुँदै छ। यस पटकको नियम अनुसार हरेक फ्रेन्चाइज टोलीले आफ्नो समूहमा थप दुई जना नेपाली खेलाडी थप्न पाउने व्यवस्था गरिएको छ। प्रतियोगिताका लागि सुरुमा ३४७ खेलाडीले आवेदन दिए पनि अन्तिम छनोटमा १५५ जना मात्र पर्न सफल भएका छन्, जसमध्येबाट आज ५२ जना खेलाडीहरू विभिन्न टोलीमा अनुबन्धित हुनेछन्। अक्सनमा सहभागी खेलाडीहरूलाई तीन तहमा वर्गीकरण गरिएको छ, जसमा श्रेणी ‘ए’ मा ५ जना, श्रेणी ‘बी’ मा २७ जना र श्रेणी ‘सी’ मा १२३ जना खेलाडी रहेका छन्।
यस पटकको अक्सनमा खेलाडी खरिदका लागि टोलीहरूसँग उपलब्ध रकमको सीमा (पर्स) फरक-फरक रहेको छ। जस अन्तर्गत जनकपुर बोल्ट्ससँग सबैभन्दा बढी ६६ लाख २५ हजार रुपैयाँ खर्च गर्ने क्षमता छ भने काठमाडौं गोर्खाजसँग सबैभन्दा कम ३४ लाख रुपैयाँ मात्र बाँकी छ।
यस तेस्रो संस्करणमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स गरी कुल आठ टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। यसअघि सम्पन्न पहिलो संस्करणमा जनकपुर र दोस्रो संस्करणमा लुम्बिनीले च्याम्पियन बन्ने सौभाग्य पाएका थिए।


