सार्वजनिक खरिद अनुगमन कार्यालय ले सरकारी ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने वा ढिलासुस्ती गर्ने १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ। बुधबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ती कम्पनीहरूलाई किन कालो सूचीमा नराख्ने भन्नेबारे प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको हो।
यसअघि सम्बन्धित सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ३० दिनको म्याद दिइएको थियो। तर तोकिएको अवधिमा कुनै पनि कम्पनीबाट जवाफ नआएपछि पुनः सात दिने अल्टिमेटम जारी गरिएको कार्यालयले जनाएको छ। यो सूचना सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१(४क) बमोजिम प्रकाशित गरिएको हो।
स्पष्टीकरण माग गरिएका कम्पनीहरूमा अनुप कन्स्ट्रक्सन, अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्स, अंसुमन निर्माण सेवा, नागार्जुन/आशिका जेभी, पन्थ–तारा लक्ष्मी जेभी, रिदम कन्स्ट्रक्सन, फ्रन्टलाइन बिल्डर्सलगायत अन्य कम्पनीहरू छन्।
तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा ती कम्पनीहरूलाई कालो सूचीमा राखिनेछ। कालो सूचीमा परेपछि उनीहरूले तोकिएको अवधिभर कुनै पनि सरकारी ठेक्कामा सहभागी हुन पाउने छैनन्।


