बैंकिङ क्षेत्रको निक्षेप कुल जीडीपीको अनुपात एक सय २६ प्रतिशत पुगेको छ । २०८२ पुस मसान्तसम्मको राष्ट्रिय आर्थिक तरलता तथा कर्जा कार्यसम्पादन सूचकअनुसार, बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात १२६.४७ प्रतिशत पुगेको हो । यो अवधिमा बैंकहरूको कर्जा प्रवाहको अवस्था पनि विस्तार भएको देखिन्छ । प्राप्त विवरणअनुसार, कुल कर्जा र जीडीपीको अनुपात ९४.८६ प्रतिशत कायम भएको छ ।
वित्तीय प्रणालीमा वाणिज्य बैंकहरूको हिस्सा सबैभन्दा ठूलो छ । वाणिज्य बैंकहरूको मात्रै निक्षेप जीडीपीको ११३.८६ प्रतिशत रहेको छ भने कर्जा प्रवाह ८४.३४ प्रतिशत रहेको छ । तुलनात्मक रूपमा विकास बैंक र वित्त कम्पनीहरूको योगदान क्रमशः १०.३५ प्रतिशत र २.२६ प्रतिशत निक्षेपमा सीमित छ । समग्र बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात ७५ प्रतिशत कायम भएको छ । जसले बजारमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त रहेको संकेत गर्दछ । विशेष गरी विकास बैंकहरूको कर्जा–निक्षेप अनुपात अन्यको तुलनामा उच्च देखिएको छ । जसले उनीहरूले आफ्नो निक्षेपको ठूलो हिस्सा कर्जाका रूपमा परिचालन गरेको देखिन्छ ।
समग्रमा, ७५ प्रतिशतको कर्जा–निक्षेप अनुपातले बैंकहरूसँग अझै थप कर्जा विस्तार गर्न सक्ने क्षमता अधिक देखिन्छ । बैंकहरूले ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । जसअनुसार १५ प्रतिशतको कुसन भएकाले प्रणालीमा अधिक तरलता छ । यो स्थिति विगत १ वर्षदेखि निरन्तर छ । नेपालको वित्तीय क्षेत्रको पछिल्लो तथ्यांकले मुलुकको अर्थतन्त्रमा बैंकिङ पहुँच र तरलताको अवस्था सुदृढ बन्दै गएको देखाएको छ ।
बैंकिङ निक्षेप खाता ६ करोड नाघ्दा कर्जा खाता २० लाख मात्र
बैंकिङ प्रणालीमा निक्षेप खाता कुल जनसंख्याको दोब्बर बढी पुग्दा कर्जा खाता भने न्यून देखिएको छ । हाल नेपालमा निक्षेप खाता ६ करोड नाघेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा ६ करोड १७ लाख ७९ हजार ८७२ निक्षेप खाता खुलेका छन् ।
तर, कर्जा खाताको संख्या भने २० लाख २४ हजार २८० मात्र छ । बैंक तथा वित्तीय संस्थामा कर्जा खाताभन्दा निक्षेप खाता ३० गुणा बढी देखिन्छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेका अनुसार, निक्षेप खाताको सङ्ख्या धेरै हुनुमा ‘मल्टिपल एकाउन्ट’ (एउटै व्यक्तिको धेरै बैंकमा खाता हुनु) मुख्य कारण हो । सर्वसाधारणले ब्याजदरमा हुने भिन्नता, पहुँच र विभिन्न प्रयोजनका लागि एकभन्दा बढी बैंकमा खाता खोल्ने गरेका छन् । यसका अतिरिक्त विभिन्न संघ–संस्थाहरूको पनि धेरै बैंकमा खाता रहने भएकाले निक्षेप खाताको सङ्ख्या जनसंख्याभन्दा धेरै देखिएको हो ।
कुन बैंकमा कति खाता ?
बैंक तथा वित्तीय संस्थामध्ये सञ्चालनमा रहेक २० वाणिज्य बैंकहरूमा मात्र ५ करोड ३० लाखभन्दा बढी निक्षेप खाताहरू छन् । तिनै वाणिज्य बैंकहरूमा कर्जा खाता भने १६ लाख ७८ हजारको हाराहारीमा मात्र छन् । यसले निक्षेपकर्ताको तुलनामा ऋण लिने ग्राहकहरूको संख्या निकै कम रहेको देखाउँछ ।
सञ्चालनमा रहेका १७ विकास बैंकहरूमा ७६ लाख ८९ हजार निक्षेप खाता हुँदा कर्जा खाता संख्या २ लाख ६८ हजार मात्र छन् । यस्तै, सञ्चालनमा रहेका १७ वित्त कम्पनीहरूमा पनि १० लाख ६६ हजार ८०८ निक्षेप खाताको तुलनामा ७७ हजार मात्र कर्जा खाता रहेका छन् ।


