Banijya News

एभरेष्ट बैंकको ३ अर्ब ३२ करोड नाफासँगै लाभांश वितरणमा देखियो बलियो सम्भावना

1
1.0K Shares

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ३.७१ प्रतिशतले थोरै हो। बैंकको खुद ब्याज आम्दानी र कमिसन आम्दानीमा वृद्धि देखिए तापनि सम्भावित कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) का लागि छुट्याउनुपर्ने रकम २७ करोडबाट बढेर ७७ करोड ७४ लाख रुपैयाँ पुगेकाले नाफामा केही दबाब परेको देखिन्छ। यसका साथै कर्मचारी खर्च र प्रशासनिक लागतमा भएको वृद्धिले पनि सञ्चालन नाफालाई प्रभावित पारेको छ।

बैंकले यो अवधिमा आक्रामक रूपमा व्यवसाय विस्तार गर्दै कर्जा प्रवाहलाई २ खर्ब १३ अर्बबाट बढाएर २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ पुर्‍याएको छ। तर, बजारमा बढ्दो प्रतिस्पर्धा र तरलताका कारण बैंकको ब्याजदर अन्तर (स्प्रेड दर) ३.६७ प्रतिशतबाट घटेर ३.१२ प्रतिशतमा खुम्चिएको छ, जसका कारण ३७ अर्बभन्दा बढीले कर्जा बढ्दा पनि ब्याज आम्दानीमा सोही अनुपातमा बढोत्तरी हुन सकेन। यद्यपि, बैंकको निष्क्रिय कर्जा (NPL) ०.६१ प्रतिशतको निकै सुरक्षित अवस्थामा रहनु र आधार दर ४.५७ प्रतिशत हुनुले बैंकको वित्तीय स्वास्थ्य बलियो रहेको सङ्केत गर्छ।

वित्तीय सूचकहरूका अनुसार बैंकको प्रतिसेयर आम्दानी (EPS) ३२.३५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४४.२७ रुपैयाँ रहेको छ। बैंकको लाभांश वितरण क्षमतामा भने उत्साहजनक सुधार देखिएको छ। सञ्चित नाफा र चालु आवको आम्दानीलाई जोड्दा बैंकको कुल रिटेन्ड अर्निङ ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको वार्षिक लाभांश क्षमता ३९.३४ प्रतिशत देखिएको छ, जुन लगानीकर्ताका लागि सुखद पक्ष हो। हाल १३ अर्ब ७२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले चैत मसान्तसम्मको नाफाबाट १ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी रकम सेयरधनीलाई वितरण गर्न सक्ने अवस्था छ।

1

Scroll to Top