Banijya News

उपत्यकाको दिगो विकासका लागि कांग्रेसको ‘भिजन १०’ सार्वजनिक हुँदै

1
1.1K Shares

संघीय राजधानीको समग्र विकासलाई लक्षित गर्दै नेपाली कांग्रेस ले काठमाडौं उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुर—का उम्मेदवारहरूको तर्फबाट ‘विकासको मार्गचित्र भिजन १०’ साझा प्रतिबद्धता आज सार्वजनिक गर्ने भएको छ।

दिउँसो आयोजना हुने विशेष कार्यक्रममा तीनवटै जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारहरूको उपस्थितिमा उक्त प्रतिबद्धता सार्वजनिक गरिने जनाइएको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल ले उपत्यकाको दिगो र समन्वित विकासका लागि आगामी पाँच वर्षमा गरिने प्राथमिक कामहरूको खाका तयार पारेर सार्वजनिक गर्न लागिएको जानकारी दिए।

काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पौडेलका अनुसार संघीय राजधानीका रूपमा रहेको उपत्यकामा देखिएका यातायात अव्यवस्था, पूर्वाधार अभाव, प्रदूषण नियन्त्रण, खानेपानी व्यवस्थापन, फोहोर मैला व्यवस्थापन र सहरी विस्तारका मुद्दालाई समेटेर साझा अवधारणा तयार गरिएको हो। “उपत्यकाको विकास कुनै एक क्षेत्र वा एक प्रतिनिधिको मात्र एजेन्डा होइन। साझा रूपमा मुद्दा उठाउँदा प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सकिन्छ,” उनले बताए।

उनका अनुसार तीन जिल्लाका उम्मेदवारबीच पटक–पटक परामर्श, सुझाव संकलन र विषयगत छलफलपछि ‘भिजन १०’ तयार पारिएको हो। राजधानी क्षेत्रका प्रमुख चुनौतीहरूको पहिचान गर्दै समाधानमुखी कार्यक्रम अघि सार्ने उद्देश्यले साझा प्रतिबद्धता ल्याइएको उनले स्पष्ट पारे।

कार्यक्रममा तीनवटै जिल्लाका उम्मेदवार, पार्टीका जिल्ला तहका पदाधिकारी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहने छ। नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति का सचिव सुशन वैद्य ले उपत्यकाको साझा एजेन्डा सार्वजनिक गर्नु समय सापेक्ष कदम भएको बताए। उनका अनुसार यसले मतदातासामु स्पष्ट विकास दृष्टिकोण प्रस्तुत गर्नेछ।

कांग्रेसले राजधानी क्षेत्रको विकासलाई राष्ट्रिय प्राथमिकतासँग जोडेर हेर्ने रणनीति लिएको छ। संघीय राजधानी भएकाले यहाँका पूर्वाधार, सार्वजनिक यातायात, वातावरण संरक्षण र प्रशासनिक सेवा प्रवाहमा सुधार ल्याउनु अपरिहार्य रहेको पार्टीको धारणा छ।

‘भिजन १०’ मा सहरी यातायात सुधार, दीर्घकालीन पूर्वाधार योजना, स्मार्ट सिटी अवधारणा, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नदी तथा हरित क्षेत्र व्यवस्थापन, युवाका लागि रोजगारी सृजना, स्वास्थ्य र शिक्षाको पहुँच विस्तार लगायतका विषय समेटिने अपेक्षा गरिएको छ।

उम्मेदवारहरूका अनुसार उपत्यकाको समस्या समाधानका लागि एकीकृत दृष्टिकोण आवश्यक छ। अलग–अलग निर्वाचन क्षेत्रका मुद्दालाई मात्र प्राथमिकता दिने भन्दा समग्र उपत्यकालाई एउटै विकास मोडलअन्तर्गत अघि बढाउन साझा प्रतिबद्धता महत्वपूर्ण हुने उनीहरूको विश्वास छ।

निर्वाचन नजिकिँदै गर्दा राजधानी केन्द्रित एजेन्डा सार्वजनिक गर्नु कांग्रेसको चुनावी रणनीतिका रूपमा समेत हेरिएको छ। उपत्यकाका मतदातासामु स्पष्ट विकास योजना प्रस्तुत गर्दै विश्वास जित्ने प्रयास स्वरूप ‘भिजन १०’ लाई अघि सारिएको पार्टी नेताहरूको भनाइ छ।

1

Scroll to Top