साइबर तथा डिजिटल वित्तीय ठगीका घटनालाई तत्काल सम्बोधन र नियन्त्रण गर्ने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्यूरोमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याइएको छ । विभिन्न सरोकारवाला निकायको सहभागितामा केन्द्रलाई २४सै घण्टा सञ्चालन हुने गरी स्थापना गरिएको हो ।
केन्द्रमार्फत डिजिटल भुक्तानी, अनलाइन ठगी, फिसिङ, नक्कली लिंक तथा अनधिकृत वित्तीय कारोबारबाट पीडित नागरिकले तत्काल सहायता पाउनेछन् । यसका लागि हटलाइन नम्बर १२४७ उपलब्ध गराइएको छ ।
नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै साइबर तथा डिजिटल वित्तीय ठगीविरुद्ध सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । ‘साइबर तथा डिजिटल वित्तीय ठगीविरुद्ध सचेत बनौँ, ठगीमा परेमा तत्काल १२४७ मा सम्पर्क गरौँ’ भन्ने सन्देशसहित बैंकले ठगीमा परे ढिलाइ नगरी सम्पर्क गर्न अनुरोध गरेको हो ।
यसअघि गृह मन्त्रालयको निर्णयअनुसार स्वीकृत केन्द्र स्थापना तथा कार्य सञ्चालनसम्बन्धी दिग्दर्शनको बुँदा नं. ६ (ग) बमोजिम राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सहभागिता अनिवार्य गरेको थियो ।
सोही व्यवस्थाअनुसार वाणिज्य बैंक, अन्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकलाई २४सै घण्टा उपलब्ध हुने गरी एक–एक जना सम्पर्क अधिकृत तोक्न निर्देशन दिइएको थियो । केन्द्रमा सम्बन्धित संस्थाका प्रतिनिधिले भौतिक रूपमा उपस्थित भई समन्वय गर्ने व्यवस्था गरिएको छ ।


