साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । हिजो बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज शुक्रबार ७.३८ अंक घटेर २६२१.२९ विन्दुमा झरेको छ ।
त्यस्तै, आज फ्लोट इण्डेक्स ०.३१ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुबै ०.०७ अंक बढेको छ ।
१३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । आज बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३९ प्रतिशत घटेको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये दोल्ती पावर कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ५.१४ प्रतिशत बढेको छ । त्यस्तै, भुगोल इनर्जीको डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशभन्दा कम रहेको छ ।
कारोबारमा आएको मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ८.५० प्रतिशत घटेको छ । त्यसैगरी, पाल्पा सिमेन्ट इन्डष्ट्रीजको शेयरमूल्य साढे ६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २० करोड २२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको करिब १५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ ।


