Banijya News

जीवन बीमकको नाफा १३ प्रतिशत घट्यो, जगेडा कोष र ईपीएसमा समेत दबाब

1
1.0K Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्थामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा दबाब देखिएको छ । कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफा, प्रतिसेयर आम्दानी (ईपीएस) र जगेडा कोषमा गिरावट आएको हो ।

समीक्षा अवधिमा १४ जीवन बीमा कम्पनीको औसत खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१० प्रतिशतले घटेको छ । गत वर्ष पहिलो त्रैमासमा औसत १३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका कम्पनीहरूले चालु वर्षको सोही अवधिमा ११ करोड ७१ लाख रुपैयाँमा सीमित भएका छन् ।

कुल १४ कम्पनीमध्ये चारवटाले मात्रै नाफा बढाउन सफल भएका छन् भने आठवटाको नाफा घटेको छ । दुई लघु जीवन बीमा कम्पनी घाटामा रहेका छन् । यसले अधिकांश कम्पनीको आम्दानी वृद्धिको गति कमजोर रहेको देखाउँछ ।

नाफाको आकारका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले गत वर्षको तुलनामा २.३६ प्रतिशत नाफा बढाउँदै २४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफको नाफा भने ११.३९ प्रतिशतले घटेर २२ करोड ९० लाख रुपैयाँमा झरेको छ । एसियन लाइफले १६ करोड १३ लाख र सानिमा रिलायन्स लाइफले १५ करोड २ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यद्यपि, नाफा वृद्धिदरमा प्रभु महालक्ष्मी लाइफले सबैलाई पछि पारेको छ । कम्पनीको खुद नाफा ४५.८९ प्रतिशतले बढेर ९ करोड ३० लाख रुपैयाँ पुगेको छ । यसले कम्पनीको तुलनात्मक वित्तीय सुधारलाई देखाउँछ । यसको विपरीत नेपाल लाइफको नाफा ४०.३५ प्रतिशतले घटेर १२ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । सिटिजन, हिमालयन, सूर्यज्योति, आइएमई, नेसनल लाइफ र एलआइसी नेपालको नाफामा पनि गिरावट आएको छ ।

लघु जीवन बीमा कम्पनीहरूको अवस्था भने थप चुनौतीपूर्ण देखिएको छ । गार्डियन माइक्रो लाइफ २ करोड ५१ लाख रुपैयाँ र क्रेस्ट माइक्रो लाइफ ८७ लाख रुपैयाँ घाटामा रहेका छन् ।

नाफासँगै कम्पनीहरूको जगेडा कोषमा पनि गिरावट आएको छ । औसत जगेडा कोष १२.८३ प्रतिशतले घटेर १५६ करोड ८९ लाख रुपैयाँमा झरेको छ । एलआइसी नेपालको जगेडा कोष सबैभन्दा बढी ४४० करोड रुपैयाँ रहेको छ । सानिमा रिलायन्स र प्रभु महालक्ष्मीले क्रमशः ७२.३४ र २६.७० प्रतिशतले जगेडा कोष बढाएका छन् । तर, हिमालयन लाइफको जगेडा कोष २९६.०५ प्रतिशतले घटेर १०१ करोड रुपैयाँभन्दा बढी ऋणात्मक बनेको छ ।

यस्तै, कम्पनीहरूको औसत प्रतिसेयर आम्दानी २६.५३ प्रतिशतले घटेर ७.३३ रुपैयाँ कायम भएको छ । गत वर्ष यस्तो आम्दानी ९.९७ रुपैयाँ थियो। ईपीएसका आधारमा सन नेपाल लाइफ १८.५५ रुपैयाँसहित अगाडि छ भने रिलायबल नेपाल लाइफको १७.६३ रुपैयाँ र एसियन लाइफको १२.२९ रुपैयाँ रहेको छ । प्रभु महालक्ष्मीको ईपीएस भने ४५.७४ प्रतिशतले बढेर ७.०१ रुपैयाँ पुगेको छ । गार्डियन र क्रेस्ट माइक्रो लाइफको ईपीएस ऋणात्मक छ ।

त्यसैगरी, औसत प्रतिसेयर नेटवर्थ २.७४ प्रतिशतले घटेर १२९.३२ रुपैयाँमा सीमित भएको छ । एलआइसी नेपालको नेटवर्थ १८०.१२ रुपैयाँ हुँदा हिमालयन लाइफको ८८.९१ रुपैयाँ छ ।

कम्पनीहरूको औसत चुक्ता पुँजी भने सामान्य बढेर ५१७ करोड रुपैयाँ पुगेको छ । नेपाल लाइफको चुक्ता पुँजी ९४८ करोड र हिमालयन लाइफको ९१४ करोड रुपैयाँ रहेको छ ।

समग्र वित्तीय सूचकले जीवन बीमा क्षेत्रमा पुँजीको आकार बढे पनि त्यसअनुसार नाफा र प्रतिसेयर प्रतिफलमा सुधार हुन नसकेको देखाउँछन् । विशेषगरी औसत ईपीएस र जगेडा कोषमा आएको गिरावटले कम्पनीहरूको वित्तीय गुणस्तरमाथि प्रश्न उठाएको छ । यद्यपि, सन नेपाल लाइफको नाफा र प्रभु महालक्ष्मीको वृद्धिदरले केही कम्पनीले चुनौतीपूर्ण अवस्थामा पनि राम्रो प्रदर्शन गर्न सक्ने देखाएका छन् । आगामी त्रैमासमा कम्पनीहरूले नाफाको दिगोपना, जगेडा कोषको सुदृढीकरण र प्रतिसेयर प्रतिफल सुधार गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयले बीमा क्षेत्रको वित्तीय अवस्थाको दिशा निर्धारण गर्नेछ ।

1

Scroll to Top