Banijya News

तीन महिनामै निजी क्षेत्रमा १ खर्ब ८४ अर्ब कर्जा प्रवाह, घरजग्गा धितोमा ६३ प्रतिशत

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ३.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि असोज मसान्तसम्म निजी क्षेत्रमा जाने कर्जा एक खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले थपिएको हो ।

गत असार मसान्तसम्म ५८ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ रहेको निजी क्षेत्रतर्फको कर्जा असोज मसान्तमा बढेर ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यसले अर्थतन्त्रमा कर्जाको माग र बैंक तथा वित्तीय संस्थाबाट हुने लगानी विस्तार भइरहेको देखाउँछ ।

तर, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको ठूलो हिस्सा अझै पनि घरजग्गा धितोमा केन्द्रित रहेको छ । राष्ट्र बैंकका अनुसार कुल कर्जामध्ये ६२.७ प्रतिशत कर्जा घरजग्गा धितोमा प्रवाह भएको छ । त्यस्तै, कृषि तथा गैरकृषिजन्य वस्तुजस्ता चालु सम्पत्तिको सुरक्षणमा प्रवाह भएको कर्जाको हिस्सा १५.५ प्रतिशत रहेको छ ।

असोज मसान्तसम्म निजी क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये ६२.९ प्रतिशत गैरवित्तीय संस्थागत क्षेत्रमा गएको छ । बाँकी ३७.१ प्रतिशत कर्जा व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

तीन महिनाको अवधिमा बैंकअनुसार कर्जा विस्तारको अवस्था हेर्दा वाणिज्य बैंकहरू अगाडि देखिएका छन् । वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशतले बढेको छ । विकास बैंकहरूको कर्जा पनि ३.१ प्रतिशतले विस्तार भएको छ । तर, वित्त कम्पनीहरूको निजी क्षेत्रतर्फको कर्जा भने १.२ प्रतिशतले घटेको छ ।

खनिज क्षेत्रमा कर्जा विस्तार तीव्र

क्षेत्रगत रूपमा हेर्दा पहिलो तीन महिनामा खनिज क्षेत्रमा प्रवाह भएको कर्जा सबैभन्दा बढी विस्तार भएको छ । यस क्षेत्रमा कर्जा प्रवाह १७.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा १२.४ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन क्षेत्रमा १०.७ प्रतिशतले कर्जा बढेको छ । यसले औद्योगिक उत्पादनसँग सम्बन्धित केही क्षेत्रमा बैंक कर्जाको विस्तार तीव्र रहेको देखाउँछ ।

समीक्षा अवधिमा सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ५.४ प्रतिशतले कर्जा बढेको छ । सेवा उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रमा समान ३.९ प्रतिशतले कर्जा विस्तार भएको छ । यातायात तथा निर्माण क्षेत्रमा पनि ३.८ प्रतिशतले कर्जा बढेको छ ।

औद्योगिक उत्पादन र उपभोग्य क्षेत्रमा कर्जा प्रवाह समान २.३ प्रतिशतले वृद्धि भएको छ । तर, सबै क्षेत्रमा कर्जाको विस्तार सकारात्मक भने देखिएको छैन। कृषि क्षेत्रमा प्रवाह भएको कर्जा २.५ प्रतिशतले घटेको छ । त्यस्तै, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा कर्जा प्रवाह ०.७ प्रतिशतले संकुचित भएको छ ।

विपन्न वर्ग कर्जामा १५ प्रतिशतभन्दा बढी वृद्धि

कर्जाको प्रकारअनुसार समीक्षा अवधिमा विपन्न वर्गतर्फको कर्जा सबैभन्दा बढी बढेको छ । तीन महिनामा यस्तो कर्जा १५.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । त्यस्तै, माग तथा अन्य चालु पुँजी कर्जा ५.२ प्रतिशतले बढेको छ ।

व्यक्तिगत आवासीय घर कर्जासमेत समेटिएको घरजग्गा कर्जा ३.५ प्रतिशतले विस्तार भएको छ । ट्रस्ट रिसिट र मार्जिन कर्जा समान २.९ प्रतिशतले बढेका छन्। आवधिक कर्जामा पनि २.६ प्रतिशतको वृद्धि देखिएको छ ।

यद्यपि, सबै प्रकारका कर्जामा विस्तार भएको छैन । समीक्षा अवधिमा क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले घटेको छ ।

समग्रमा पहिलो तीन महिनाको तथ्यांकले निजी क्षेत्रमा बैंकिङ कर्जा विस्तार भइरहेको देखाए पनि कृषि तथा केही उत्पादनमूलक क्षेत्रमा कर्जा घटेको छ । विशेषगरी घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा उच्च रहनु र कृषि क्षेत्रमा कर्जा संकुचन हुनुले बैंकिङ क्षेत्रको कर्जा लगानीको प्राथमिकतामाथि प्रश्न उठाएको छ । उत्पादन, रोजगारी र वास्तविक अर्थतन्त्रमा योगदान पुर्‍याउने क्षेत्रमा कर्जा विस्तार हुनुपर्ने आवश्यकता यस तथ्यांकले पुनः देखाएको छ ।

1

Scroll to Top