Banijya News

सुनकोशी मरिण आयोजनाको ठेक्का रद्द प्रकरण, लेखा समितिद्वारा छानबिन पहल

1
1.0K Shares

राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषयले संसदीय निगरानीको दायरामा प्रवेश गरेको छ । ठेक्का रद्द गर्ने निर्णयको वैधानिकता, प्रक्रियागत औचित्य र त्यसबाट राज्यलाई पर्न सक्ने आर्थिक भारबारे प्रश्न उठाउँदै प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको हो ।

ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा आयोजना कार्यालयले एकाएक रद्द गर्ने निर्णय गरेपछि त्यसको कारण र कानुनी आधारमाथि प्रश्न उठाइएको छ । उजुरीकर्ताले निर्णय प्रक्रियामा त्रुटि रहेको दाबी गर्दै यसबाट आयोजनाको निर्माण कार्य प्रभावित हुनुका साथै राज्यलाई आर्थिक नोक्सानी पुग्न सक्ने औंल्याएका छन् ।

उजुरीमाथि छलफल गर्न सार्वजनिक लेखा समितिले आगामी मंसिर ८ गते मंगलबार बिहान साढे ९ बजेका लागि बैठक बोलाएको छ । समितिको प्रमुख कार्यसूचीमा सुनकोशी मरिण डाइभर्सन आयोजनासम्बन्धी उजुरीमाथि छलफल गर्ने विषय राखिएको छ ।

समिति सभापति भरतबहादुर खड्काका अनुसार प्राप्त उजुरीको अध्ययन गरी त्यसमा उठाइएका विषयको तथ्य र प्रमाणका आधारमा आवश्यक प्रक्रिया अघि बढाइनेछ । उनले उजुरीमा उल्लेख गरिएका विषयको तथ्यगत परीक्षण गर्नुका साथै सम्बन्धित सरोकारवालासँग समेत छलफल गरिने बताएका छन् ।

आयोजनाले गत जुन ८, २०२६ मा सूचना प्रकाशित गरी सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।बोलपत्रसम्बन्धी प्रक्रिया अघि बढेर अन्तिम चरणमा पुगिसकेको अवस्थामा गत कात्तिकको दोस्रो साता आयोजना कार्यालयले ठेक्का रद्द गर्ने निर्णय गरेको थियो ।

आयोजना कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) को व्यवस्था उल्लेख गर्दै ठेक्का रद्द गरिएको जनाएको छ । आयोजना निर्देशकद्वारा जारी सूचनामा ठेक्का रद्द गर्ने निर्णयबाट बोलपत्रदातालाई परेको असुविधाप्रति क्षमायाचनासमेत गरिएको थियो ।

तर, बोलपत्र आह्वानदेखि मूल्यांकनलगायतका प्रक्रिया अघि बढिसकेको अवस्थामा ठेक्का रद्द गर्नुको औचित्य र कानुनी आधारबारे उजुरीकर्ताले असन्तुष्टि जनाएका छन् । उनीहरूले निर्णयले आयोजनाको कार्यान्वयनमा ढिलाइ गराउनुका साथै पुनः ठेक्का प्रक्रिया अघि बढाउँदा लागतसमेत बढ्न सक्ने जोखिम औंल्याएका छन् ।

यद्यपि, ठेक्का रद्द गर्ने निर्णयबाट राज्यलाई वास्तविक रूपमा कति आर्थिक नोक्सानी पुगेको छ भन्ने विषय भने अहिलेसम्म पुष्टि भएको छैन । समितिको छलफलपछि निर्णय प्रक्रियाको वैधानिकता र त्यसले पार्न सक्ने आर्थिक प्रभावबारे थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजना सुनकोशी नदीको पानी मरिण खोलामा पथान्तरण गरी तराईका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने तथा विद्युत् उत्पादन गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना हो । यस्तो रणनीतिक महत्वको आयोजनामा ठेक्का रद्द भएपछि निर्माण कार्यतालिका, लागत र समग्र कार्यान्वयनमा पर्न सक्ने प्रभावलाई समेत चासोका साथ हेरिएको छ ।

1

Scroll to Top