Banijya News

प्रमसँगै भारत भ्रमणमा अर्थमन्त्री वाग्ले पनि सहभागी, लगानी विस्तारमा जोड दिने

1
1.0K Shares

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को दुईदिने राजकीय भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि सहभागी भएका छन् । प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलसँगै अर्थमन्त्री वाग्ले आइतबार नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल र भारतबीच हुने उच्चस्तरीय बैठक तथा द्विपक्षीय छलफलमा नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको प्रतिनिधित्व गर्नेछन् । नेपाली प्रतिनिधिमण्डलमा दोस्रो वरीयताका मन्त्रीका रूपमा सहभागी वाग्लेले दुई देशबीचको आर्थिक सहकार्य, व्यापार तथा लगानी विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

भ्रमणको पहिलो दिन आइतबार साँझ अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत व्यावसायिक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई)को संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा दुवै देशका उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरूको सहभागिता रहनेछ ।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालमा उपलब्ध लगानीका अवसर, सम्भावना तथा लगानीमैत्री वातावरणबारे जानकारी गराउने अपेक्षा गरिएको छ । उनले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानी विस्तार गर्नसमेत आह्वान गर्नेछन् ।

अन्तरक्रियामा नेपालमा लगानी प्रवद्र्धन, द्विपक्षीय व्यापार विस्तार, औद्योगिक सहकार्य, निर्यात प्रवद्र्धन तथा दुई देशबीच आर्थिक साझेदारी सुदृढ गर्ने विषयमा छलफल हुनेछ । कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी, प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । उक्त वार्तामा व्यापार, ऊर्जा, पूर्वाधार विकास, लगानी तथा आर्थिक सहकार्यका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको यो भारत भ्रमणलाई दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ । विशेषगरी भारतीय निजी क्षेत्रको लगानी नेपाल भित्र्याउने र द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने विषयमा भ्रमणका क्रममा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

1

Scroll to Top