स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै मितिमा गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच सहमति जुट्न सकेको छैन । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीका विषयमा शुक्रबार राजनीतिक दलका प्रतिनिधिसँग गरेको छलफलमा यसबारे साझा धारणा बन्न नसकेको हो ।
छलफलमा निर्वाचनको खर्च र व्यवस्थापनलाई सहज बनाउन स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न सकिने विकल्पबारे समेत चर्चा भएको थियो । तर, यस विषयमा अन्तिम निर्णयमा पुग्न दलहरूबीच थप छलफल आवश्यक देखिएको छ ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले पटकपटक निर्वाचन गर्दा आर्थिक तथा व्यवस्थापकीय भार पर्न सक्ने विषय उठेको बताए । उनका अनुसार स्थानीय र प्रदेश तहको निर्वाचन एउटै समयमा गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको छ ।
निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्ने वा फरकफरक मितिमा गर्ने भन्ने विषयमा राजनीतिक सहमति जुटाउन दलहरूलाई आग्रह गरेको खरेलले जानकारी दिए । अब राजनीतिक दलका संयन्त्रहरूबीच छलफल गरेर यसबारे निर्णय गरिने उनले बताए । भोटेकोसी बाढीका समयमा गठन भएको राजनीतिक संयन्त्रमा पनि यो विषयले प्रवेश पाउने उनको भनाइ छ ।
छलफलमा निर्वाचनलाई निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन दलहरूले आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उम्मेदवारले गर्ने निर्वाचन खर्च घटाउन आवश्यकताअनुसार संविधान र कानुन संशोधन गर्नुपर्ने विषय पनि उठेको थियो । साथै, प्रवासमा रहेका नेपाली नागरिकलाई आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनमा मतदानको अधिकार दिनुपर्ने प्रस्तावसमेत राखिएको खरेलले बताए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने संविधान र कानुनले व्यवस्था गरेको समयमै निर्वाचन गर्नुपर्ने धारणा राखेका छन् । त्यस्तै, नेपाली काँग्रेसका सभापति गगन थापाले पनि निर्वाचनसम्बन्धी व्यवस्था संविधान र कानुनमा स्पष्ट रहेको उल्लेख गर्दै एकैपटक निर्वाचन गर्ने विषयमा दलहरूले आन्तरिक छलफल गर्ने बताएका छन् ।
निर्वाचनको मिति र स्वरूपबारे राजनीतिक सहमति जुटेपछि मात्रै आयोगले थप तयारी अघि बढाउने देखिएको छ ।


