Banijya News

बालेनप्रतिको क्रेज अन्ततः मतमा परिणत

1
1.2K Shares

नेपालको समकालीन राजनीतिमा ठूलो परिवर्तनको संकेत दिने घटनाका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह (बालेन) को विजयलाई हेरिएको छ । प्रतिनिधिसभा निर्वाचनमा उनले झापा–५ बाट उम्मेदवारी दिँदै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लाई फराकिलो मतान्तरले पराजित गरेका छन् । बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत मात्र ल्याउन सके । यसरी बालेन करिब ४९ हजार ६१४ मतान्तरले विजयी भएका छन् । यो परिणाम केवल एउटा निर्वाचनको नतिजा मात्र होइन, नेपाली राजनीतिमा नयाँ पुस्ता र नयाँ सोचको उदयको संकेतका रूपमा विश्लेषण भइरहेको छ। लामो समयदेखि राजनीतिक शक्तिको केन्द्रमा रहेका ओलीजस्ता अनुभवी नेतामाथि बालेनले प्राप्त गरेको विजयलाई धेरैले “राजनीतिक परिवर्तनको प्रतीक” मानेका छन् ।
बालेन्द्र शाह मूलतः एक इन्जिनियर, ¥यापर र सामाजिक अभियन्ता का रूपमा परिचित व्यक्ति हुन् । विशेषगरी युवापुस्तामाझ लोकप्रिय छन् । सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रस्तुत गर्ने शैली, भ्रष्टाचार र अव्यवस्थाविरुद्ध खुला आलोचना गर्ने स्वभाव तथा विकासका नयाँ अवधारणाहरूले उनलाई युवामाझ विशेष लोकप्रिय बनाएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका थिए । राजनीतिक दलहरूको समर्थनबिना चुनाव लड्दा पनि उनले ६१ हजार ७६७ मत प्राप्त गर्दै महानगर प्रमुखको पद जितेका थिए । त्यो विजयलाई पनि तत्कालीन समयको राजनीतिक परिवर्तनको संकेतका रूपमा हेरिएको थियो । महानगर प्रमुखको रूपमा निर्वाचित भएपछि उनले सार्वजनिक सम्पत्ति संरक्षण, सुशासन, सांस्कृतिक सम्पदा जगेर्ना र शिक्षा सुधारका क्षेत्रमा विभिन्न कदम चाले। त्यसैले उनीप्रति धेरै मतदाताको विश्वास बढ्दै गएको देखिन्थ्यो ।

पुराना दलप्रति जनताको असन्तुष्टि
पछिल्ला वर्षहरूमा नेपालका प्रमुख राजनीतिक दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र—प्रति जनतामा बढ्दो असन्तुष्टि देखिएको थियो । चुनावपछि सरकार गठनका लागि हुने दलीय गठबन्धन, सत्ता भागबन्डा र राजनीतिक लेनदेनले संसदीय राजनीतिप्रति जनताको विश्वास कमजोर बनाएको विश्लेषण गरिएको छ । विशेषगरी युवा पुस्ताले पुराना दल र नेताहरूले अपेक्षित परिवर्तन ल्याउन नसकेको धारणा व्यक्त गर्दै आएका थिए । यही कारणले यसपटकको चुनावमा धेरै मतदाताले नयाँ विकल्प खोजेको देखिन्छ । त्यसको परिणामस्वरूप बालेनप्रति देखिएको आकर्षण मतमा परिणत भएको राजनीतिक विश्लेषकहरू बताउँछन् । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका अनुसार, “देशभरि देखिएको बालेनप्रतिको क्रेज अन्ततः मतमा परिणत भएको छ । युवापुस्ताले परिवर्तनको आशामा उनलाई समर्थन गरेका छन् ।”

ओलीको राजनीतिक गढमा ऐतिहासिक पराजय
झापा–५ निर्वाचन क्षेत्र लामो समयदेखि केपी शर्मा ओलीको राजनीतिक गढका रूपमा चिनिन्थ्यो । ओलीले २०४८ सालपछि भएका अधिकांश निर्वाचन यही क्षेत्रबाट जितेका थिए । उनी छ पटक सांसद, चार पटक प्रधानमन्त्री र तीन पटक पार्टी अध्यक्ष बनेका छन् । यस क्षेत्रबाट ओलीलाई हराउनु सजिलो मानिँदैन थियो । तर, यसपटक बालेनले उनको गढमै पुगेर प्रतिस्पर्धा गरे र फराकिलो मतान्तरले जित हासिल गरे । यसलाई नेपाली राजनीतिमा दुर्लभ घटना मानिएको छ । ओली यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा मात्र पराजित भएका थिए । त्यसबेला तत्कालीन माओवादीका विश्वदीप लिङ्देन लिम्बूले उनलाई हराएका थिए ।

सम्भावित सबैभन्दा कम उमेरका प्रधानमन्त्री
मतगणना सम्पन्न भएपछि रास्वपाका तर्फबाट बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ । यदि उनी प्रधानमन्त्री बने भने, नेपालका इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति हुनेछन् । अहिले उनी ३६ वर्षका छन् । यसअघि सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति बीपी कोइराला थिए । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि उनी ४४ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । त्यसैले बालेन प्रधानमन्त्री बनेमा नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ ।

महानगरदेखि राष्ट्रिय राजनीतिसम्म
बालेनले आफ्नो राजनीतिक यात्रा स्थानीय सरकारबाट सुरु गरेका हुन् । काठमाडौँ महानगरपालिकाको प्रमुखका रूपमा उनले प्रशासनिक सुधार, सार्वजनिक स्थल संरक्षण र अव्यवस्थित संरचना हटाउने अभियान सञ्चालन गरेका थिए । विशेषगरी सडकको मापदण्ड मिचेर बनाइएका संरचनाहरू हटाउने अभियानले ठूलो चर्चा पायो । नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटा भवनमा महानगरले डोजर चलाएपछि त्यसले राजनीतिक विवादको रूप पनि लिएको थियो । एमालेका नेता महेश बस्नेतले त्यस कदमको विरोध गर्दै भवनका मालिक एमालेसँग नजिक भएकाले भत्काइएको हो कि भनेर प्रश्न उठाएका थिए । त्यसपछि सामाजिक सञ्जालमा समर्थकहरूबीच तीव्र बहस सुरु भएको थियो ।

ओली र बालेनबीचको सम्बन्ध
काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि बालेनलाई केपी शर्मा ओलीले तबला उपहार दिएका थिए । उनले त्यतिबेला भनेका थिए, “राम्रो काम गरेर राम्रो राजनीतिज्ञ बनून् भनेर तबला उपहार दिएको हुँ ।”

तर, त्यसपछि उनीहरूबीचको सम्बन्ध क्रमशः चिसिँदै गयो । विभिन्न नीतिगत विषय, महानगरका निर्णय तथा सामाजिक सञ्जालमा भएका टिप्पणीहरूले उनीहरूबीचको दूरी बढ्दै गयो । न्युरोड क्षेत्रमा सडकपेटी फराकिलो बनाउने क्रममा सडक विभागसँग विवाद भएपछि बालेनले विभागको कार्यालयअगाडि फोहोर थुपारिदिएका थिए । त्यस घटनाबारे टिप्पणी गर्दै ओलीले सामाजिक सञ्जालमा लेखेका थिए, “छिमेकीसँग रिस उठ्यो भने उसको ढोकामा फोहोर फ्याँकिदिने? यो कुनै सभ्यता हो ?” यसपछि ओली र बालेनका समर्थकहरूबीच सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको थियो ।

जेन–जी आन्दोलन र राजनीतिक परिवर्तन
राजनीतिक परिवर्तनको अर्को महत्वपूर्ण पाटो जेन–जी आन्दोलन थियो । २३ र २४ भदौमा भएको उक्त आन्दोलनमा युवापुस्ताले भ्रष्टाचार र राजनीतिक अस्थिरताविरुद्ध आवाज उठाएका थिए । उक्त आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए । त्यसपछि देशमा अन्तरिम सरकार गठन भएको थियो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारले छ महिनाभित्र चुनाव गराउने जिम्मेवारी पाएको थियो । त्यसपछि बालेनले महानगर प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । त्यसपछि उनी झापा–५ बाट चुनाव लड्न पुगेका थिए ।

प्रधानमन्त्रीका रूपमा सम्भावित चुनौती
निर्वाचन जित्नु एउटा उपलब्धि भए पनि प्रधानमन्त्रीका रूपमा काम गर्नु अझ चुनौतीपूर्ण हुने विश्लेषकहरू बताउँछन् । विशेषगरी नेपालको कर्मचारीतन्त्र र पुराना राजनीतिक संरचनाहरू नयाँ नेतृत्वका लागि कठिन बन्न सक्छन् । राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार, “बालेनको पक्षमा ठूलो जनलहर देखिएको छ । तर, सरकार चलाउँदा उनलाई प्रशासनिक प्रणाली र राजनीतिक दाउपेचसँग जुध्नुपर्नेछ ।”
महानगरमा काम गर्दा पनि केही कर्मचारी र राजनीतिक दलनिकट व्यक्तिहरूले अवरोध गर्ने गरेको अनुभव बालेनसँग छ । राष्ट्रिय स्तरमा त्यो चुनौती अझ जटिल हुन सक्छ । बालेन पहिलो पटक सांसद बनेका व्यक्ति हुन् । संसदीय प्रक्रियाहरू, विधेयक पारित गर्ने प्रणाली तथा दलहरूबीचको सहकार्यजस्ता विषयमा अनुभव कम हुन सक्छ । त्यसबाहेक राष्ट्रिय सभामा रास्वपाको उपस्थिति नभएकाले तल्लो सदनले पारित गरेका विधेयक माथिल्लो सदनमा अड्किन सक्ने सम्भावना पनि रहेको छ ।

संघीयता र राजनीतिक बहस
बालेनमाथि एक समय संघीयताविरोधी रहेको आरोप पनि लागेको थियो । २०७९ सालको निर्वाचनमा उनले प्रदेशसभाको मतदान नगरेपछि यस्तो आरोप लागेको थियो । तर पछि उनले संघीयतालाई अझ प्रभावकारी बनाउने आवश्यकता रहेको भन्दै आफ्नो धारणा स्पष्ट गरेका थिए । रास्वपाले पनि संविधानको मूल मर्मलाई स्वीकार गर्ने घोषणा गरेको छ । उनले संघीय संरचनासँग सहकार्य गर्दै काम गर्नुपर्ने चुनौती देखिएको छ ।

झापा–५ बाट केपी शर्मा ओलीजस्ता अनुभवी नेतामाथि बालेन्द्र शाहले प्राप्त गरेको विजय नेपाली राजनीतिमा ठूलो परिवर्तनको संकेत हो । युवापुस्ताको समर्थन, नयाँ राजनीतिक सोच र पुराना संरचनाप्रतिको असन्तुष्टिले यस परिणामलाई सम्भव बनाएको देखिन्छ । चुनावी विजयभन्दा ठूलो चुनौती अब शासन सञ्चालनमा देखिनेछ। प्रशासनिक संरचना, संसदीय राजनीति, संघीय व्यवस्था र विभिन्न दलहरूसँग सहकार्य गर्दै देशलाई स्थिरता र विकासतर्फ लैजानु बालेनका लागि महत्वपूर्ण परीक्षा हुनेछ । उनले जनताले दिएको विश्वासलाई व्यवहारमा उतार्न सके भने, यो विजय केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली राजनीतिमा नयाँ युगको सुरुवात बन्न सक्छ ।

अन्तर्राष्ट्रिय मान्यता
बालेन्द्र शाह केवल स्थानीय राजनीतिमा मात्र सीमित व्यक्तित्व होइनन् । अन्तर्राष्ट्रिय स्तरमा पनि उनको कामको चर्चा भएको छ । विश्वप्रसिद्ध टाइम म्यागजिनले तीन वर्षअघि उनलाई “टप १०० इमर्जिङ लिडर” को सूचीमा समावेश गरेको थियो । यसले उनको नेतृत्व क्षमताप्रति अन्तर्राष्ट्रिय समुदायको चासो पनि देखाएको मानिन्छ । बालेन पेशाले सिभिल इन्जिनियर हुन् । उनले सिभिल इन्जिनियरिङमा बीई गरेका छन् भने स्ट्रक्चरल इन्जिनियरिङमा एमटेक गरेका छन् । अहिले उनी पीएचडी अध्ययनरत छन् । संगीतप्रेमी बालेन ¥याप संगीतमार्फत सामाजिक विषयहरू उठाउने कलाकारका रूपमा पनि परिचित छन् । उनका गीतहरू युवामाझ लोकप्रिय छन् ।

1

Scroll to Top