Banijya News

एन्फाद्वारा खेलाडी संघसँग वार्ताको आह्वान

1
1.1K Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो सदस्य संस्था नेपाल फुटबल खेलाडी संघले सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एन्फाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको दिन २४ गते कुनै पूर्व जानकारी र संवाद बिना गरिएको तालाबन्दीले खेलकुद संस्थाबीचको सहकार्यमा नकारात्मक प्रभाव पर्ने बताएको छ।

संघले मातहत संस्थाहरूसँग संवादको ढोका सधैं खुला रहेको उल्लेख गर्दै ‘ए’ डिभिजन लिग सञ्चालनका विषयमा सहभागी क्लबहरू र खेलाडीबीच निरन्तर संवाद भइरहेको जनाएको छ। यस्तै, राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने तयारी गरिएको पनि एन्फाले जनाएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट फाइनल खेलको टिकट बिक्रीबाट आएको केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा एन्फा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। खेलाडीहरूको पुरस्कार, तलब तथा भत्ताको विषयमा भने वर्तमान कार्यसमितिले घोषित पुरस्कार पूर्ण रूपमा भुक्तानी गरिसकेको र अघिल्ला कार्यसमितिले बाँकी राखेका पुरस्कार रकम पनि आन्तरिक स्रोतबाट क्रमशः भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको एन्फाले जनाएको छ।

एन्फाले तालाबन्दीका कारण ‘ए’ डिभिजन लिग, एन्फा यू–१६ लिग, महिला लिग, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा नेपाल र लाओसबीच हुने एएफसी एसियन कप छनोट खेलजस्ता महत्वपूर्ण प्रतियोगिताको तयारी प्रभावित हुन सक्ने चेतावनी दिएको छ। एन्फाले खेलाडी संघलाई तालाबन्दी तत्काल खोल्दै संवादमार्फत समस्या समाधान गर्न आग्रह गर्दै नेपाली फुटबल गतिविधि प्रभावित भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै वहन गर्नुपर्ने जनाएको छ।

साथै, एन्फाले आफ्नो भौतिक संरचना र नियमित गतिविधिको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायसँग सहयोग माग्ने पनि जनाएको छ।

1

Scroll to Top