राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भए पनि त्यसलाई औपचारिक रूपमा कार्यान्वयन गर्न पार्टीको विधान संशोधन गर्नुपर्ने अवस्था देखिएको छ। पार्टीको वर्तमान विधानमा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था उल्लंघन भइसकेकाले अब प्रक्रिया मिलाउन विधान सच्याउनुपर्ने चर्चा रास्वपा भित्र सुरु भएको छ।
रास्वपाको विधानको धारा ६६ (८) मा संसदीय दलको नेता चयन गर्ने स्पष्ट प्रक्रिया उल्लेख गरिएको छ। उक्त प्रावधानअनुसार संघीय निर्वाचनअघि नै पार्टीको तर्फबाट प्रत्यक्ष र समानुपातिकतर्फ छनोट भएका उम्मेदवारहरूबीच संसदीय दलको नेता चयनका लागि निर्वाचन हुनुपर्ने व्यवस्था छ। सो निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने उल्लेख गरिएको छ।
विधान अनुसार निर्वाचनमा कुल खसेको सदर मतको ५० प्रतिशतभन्दा एक मत बढी ल्याउने उम्मेदवार संसदीय दलको नेता बन्ने व्यवस्था छ। यदि कुनै उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन गराइने प्रावधान पनि राखिएको छ। यसरी निर्वाचित व्यक्ति नै पार्टीको संसदीय दलको नेता हुने र पार्टीले सरकारको नेतृत्व गरेमा सोही व्यक्ति प्रधानमन्त्री हुने व्यवस्था विधानमा गरिएको छ।
तर व्यवहारमा भने रास्वपाले उक्त प्रक्रिया पूरा गर्न सकेन। बालेन नेतृत्वको समूहसँग एकीकरण भएपछि पार्टीले प्रत्यक्षतर्फका उम्मेदवार छनोटका लागि व्यापक रूपमा प्राइमरी निर्वाचन गर्न सकेन। समानुपातिकतर्फ पनि प्राइमरी निर्वाचन आंशिक रूपमा मात्र सम्पन्न भएको थियो। त्यसैले विधानमा उल्लेखित प्रक्रिया अनुसार संसदीय दलको नेता चयन गर्ने काम हुन सकेन।
यसबीच रास्वपाले राजनीतिक सहमतिका आधारमा बालेन शाहलाई भावी संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो। तर उक्त निर्णय विधानमा उल्लेखित प्रक्रिया अनुरूप नभएकाले अब त्यसलाई औपचारिक रूपमा मिलाउन विधान संशोधनको आवश्यकता देखिएको छ।
पार्टीभित्रका नेताहरूका अनुसार अहिलेको अवस्थामा बालेनलाई संसदीय दलको नेता बनाउने सबैभन्दा सहज बाटो भनेको विधान संशोधन गर्नु हो। रास्वपाको पहिलो महाधिवेशन हुन बाँकी रहेकाले त्यतिन्जेलसम्म केन्द्रीय समितिलाई विधान संशोधन गर्ने अधिकार दिइएको छ। त्यसअनुसार केन्द्रीय समिति बैठकबाट आवश्यक संशोधन गरी प्रक्रिया मिलाउन सकिने बताइएको छ।
रास्वपाका एक पदाधिकारीका अनुसार, “विधानमा भएको व्यवस्था व्यवहारमा लागू हुन नसकेको अवस्थामा पार्टीले प्रक्रिया मिलाउन संशोधन गर्नुपर्ने हुन्छ। बालेनलाई संसदीय दलको नेता बनाउनका लागि सबैभन्दा पहिले केन्द्रीय समिति बैठकबाट विधान सच्याउनुपर्छ।”
राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाले निर्वाचनअघि नै संसदीय दलको नेता चयन गर्ने व्यवस्था राख्नु व्यवहारिक नभएको तर्क पनि उठ्दै आएको छ। नेपालमा मात्र होइन, संसदीय प्रणाली अपनाएका अधिकांश मुलुकहरूमा संसदीय दलको नेता संसदमा निर्वाचित सांसदहरूले चयन गर्ने परम्परा रहेको छ। चुनावअघि नै साधारण सदस्यहरूको मतबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था निकै असामान्य मानिन्छ।
रास्वपाको विधानमा भने पार्टीका साधारण सदस्यहरूले नै संसदीय दलको नेता चयन गर्ने अनौठो प्रावधान राखिएको छ। यदि त्यस्तो व्यक्तिले चुनाव नजितेमा पुनः निर्वाचित सांसदहरूमध्येबाट अर्को निर्वाचन गरेर संसदीय दलको नेता चयन गर्ने व्यवस्था गरिएको छ। यही प्रावधानका कारण अहिले पार्टीलाई प्रक्रिया मिलाउन थप जटिलता भएको देखिन्छ।
यद्यपि रास्वपाभित्र बालेनलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा खासै विवाद नरहेको नेताहरू बताउँछन्। पार्टीभित्र व्यापक सहमति रहेकाले केन्द्रीय समितिले आवश्यक निर्णय गरेर प्रक्रिया सहज बनाउन सक्ने विश्वास पनि व्यक्त गरिएको छ।
तर अहिले मुख्य प्रश्न भनेको केन्द्रीय समिति बैठक कहिले बस्छ भन्ने हो। अहिलेसम्म पार्टी नेतृत्वले बैठक बोलाउने औपचारिक तयारी सुरु गरेको संकेत देखिएको छैन। पार्टीभित्र विधान संशोधनको विषय औपचारिक रूपमा छलफलमा नआएकाले निर्णय प्रक्रियामा केही समय लाग्न सक्ने अनुमान गरिएको छ।
अर्कोतर्फ बालेन शाह स्वयं केन्द्रीय समिति बैठकमा सहभागी हुने वा नहुने विषय पनि स्पष्ट भइसकेको छैन । बालेन पक्षबाट केन्द्रीय समितिमा मनोनीत गरिएका सदस्यहरू भने बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ ।
राजनीतिक वृत्तमा भने रास्वपाले छिट्टै केन्द्रीय समिति बैठक बोलाएर विधान संशोधन गरी प्रक्रिया मिलाउने सम्भावना रहेको चर्चा भइरहेको छ। त्यसपछि संसदीय दलको बैठकबाट औपचारिक रूपमा बालेनलाई दलको नेता चयन गर्ने बाटो खुल्ने अनुमान गरिएको छ । यसरी हेर्दा रास्वपाले राजनीतिक सहमतिका आधारमा अघि बढाएको नेतृत्व संरचनालाई कानुनी र संस्थागत रूपमा व्यवस्थित गर्न अब विधान संशोधन अपरिहार्य देखिएको छ ।


