Banijya News

रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नं २ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार रिट दायर भएको हो ।

सिन्धुली १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर २ का नेकपा एमालेकै उम्मेदवार अम्बरबहादुर रायमाझीले उनीहरूलाई निर्वाचित घोषणा गर्ने आयोगको निर्णय बदर गरेर आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन् ।

उनीहरू दुवै जनाले वारेस युवराज पौडेलमार्फत रिट दायर गरेका हुन् । रास्वपाका यी दुवै सांसद उम्मेदवार हुँदा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको र उम्मेदवार बन्न नै अयोग्य रहेकाले उनीहरूलाई निर्वाचित घोषणा गर्न नमिल्ने उनीहरूको दाबी छ ।

उनीहरूले निर्वाचन आयोगलाई समेत छलछाम गरेर आफू कालो सूचीमा हुँदाहुँदै अवैध रुपमा उम्मेदवार बनेको निवेदनमा जिकिर गरिएको छ । उनीहरूको उम्मेदवारी नै बदर हुने भएकाले दोस्रो बढि मत ल्याउने यी दुवै निवेदकले आफूलाई सांसदमा निर्वाचित भएको घोषणा गर्न माग गरेका छन् ।

निर्वाचन आयोगले यसअघि गरेको घोषणा र प्रमाण पत्र पनि बदर गर्न उनीहरूको माग छ । उनीहरूको शपथ रोक्न पनि निवेदकले अन्तरिम आदेश माग गरेका छन् । यी दुवै रिटमा चैत २५ गतेलाई पेसी तोकिएको छ ।

यसअघि धनुषा क्षेत्र नं १ का रास्वपाकै उम्मेदवार किशोरी साहको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालो सूचीमै रहेका कारण बदर भएको थियो । उनले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरे पनि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

1

Scroll to Top