Banijya News

आईपीएल २०२६ का लागि बीसीसीआईको नयाँ नियम: म्याच डेमा अभ्यास र फिटनेस टेस्ट प्रतिबन्धित

1
1.1K Shares

यस पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले नयाँ र कडा नियमहरू सार्वजनिक गरेको छ। आगामी मार्च २८ देखि सुरु हुने प्रतियोगितामा खेलको दिन कुनै पनि टोलीले अभ्यास गर्न नपाउने र खेलाडीहरूको फिटनेस टेस्टसमेत गर्न नमिल्ने गरी निर्देशिका जारी गरिएको हो। अनुशासन कायम राख्न र सबै टोलीका लागि समान अवसर सुनिश्चित गर्न बोर्डले यस्तो कदम चालेको हो। प्रतियोगिताको पहिलो खेल साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबिच बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा हुने तय भएको छ। बोर्डले मार्च ११ मा पहिलो चरणको तालिका सार्वजनिक गरिसकेको छ।

नयाँ नियम अनुसार अब मुम्बईको वानखेडे स्टेडियममा अभ्यासका लागि विशेष व्यवस्था गरिएको छ, जहाँ दुवै टोलीलाई छुट्टाछुट्टै विकेट उपलब्ध गराइनेछ। कुनै पनि टोलीले विपक्षी टोलीका लागि तोकिएको नेट वा विकेट प्रयोग गर्न पाउने छैनन्। यदि कुनै टोलीले आफ्नो अभ्यास समयभन्दा अगाडि नै काम सकेमा पनि अर्को टोलीले उक्त खाली विकेट प्रयोग गर्न अनुमति पाउने छैन।

खेलाडीहरूको जर्सी नम्बर परिवर्तन गर्ने सवालमा पनि बोर्डले कडाइ गरेको छ। अब कुनै खेलाडीको जर्सी नम्बर बदल्नु परेमा खेल सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै जानकारी दिनुपर्नेछ। ड्रेसिंग रुमको मर्यादा र सुरक्षालाई ध्यानमा राख्दै त्यहाँ केवल आधिकारिक स्टाफलाई मात्र प्रवेश दिइने व्यवस्था गरिएको छ। खेलको दिन मैदानमा केवल १२ जना सहयोगी स्टाफ मात्र टोलीसँग रहन पाउनेछन्, जसमा अनिवार्य रूपमा एक डाक्टर सामेल हुनुपर्नेछ। मैदानको अनुशासनका लागि बोर्डले अन्य थुप्रै महत्त्वपूर्ण नियमहरू पनि थपेको छ। अभ्यासका क्रममा खुल्ला नेटको अनुमति हुने छैन भने खेलाडीहरूलाई मैदानका एलईडी बोर्ड नजिक बस्न वा त्यसतर्फ बल प्रहार नगर्न सल्लाह दिइएको छ।

ब्रोडकास्ट नियम अन्तर्गत सुरुवाती ओभरहरूमा ओरेन्ज र पर्पल क्याप विजेताले ती क्याप लगाउनु अनिवार्य हुनेछ। त्यस्तै, खेलपछिको पुरस्कार वितरण समारोहमा स्लिभलेस जर्सी वा फ्लपी टोपी लगाउन पाइने छैन। खेलाडीका परिवार र साथीभाइका लागि पनि नियमहरू तोकिएका छन्। उनीहरूले टोलीको बसमा यात्रा गर्न पाउने छैनन् र अभ्यास सत्र केवल हस्पिटालिटी एरियाबाट मात्र हेर्न पाउनेछन्। मैदानमा खटिने सबै स्टाफले आफ्नो एक्रिडिटेसन कार्ड अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ, अन्यथा जरिवाना तिर्नुपर्नेछ।

1

Scroll to Top