Banijya News

रवि लामिछानेसहितको मुद्दामा सर्वोच्चमा आज पनि सुनुवाइ

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ।

सोमबार र मंगलबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ भएको उक्त रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो। सोही रिटमा आज पुनः बहस अघि बढ्ने बताइएको छ।

यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले तीन दिनसम्म बहस सुनेपछि सम्बन्धित फाइल झिकाउन आदेश दिएको थियो। त्यसपछि मुद्दा थप सुनुवाइका लागि अर्को इजलासमा पेश गरिएको हो।

अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफललगायतले महान्यायाधिवक्ताको कार्यालयले गरेको अभियोग संशोधनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमा महान्यायाधिवक्ताको कार्यालय, विभिन्न सरकारी वकिल कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगलाई कमजोर पार्ने गरी निर्णय भएको भन्दै सो निर्णय खारेज गर्न र कानुनी प्रक्रियामा अवरोध नआउने सुनिश्चितता गर्न परमादेश माग गरेका छन्।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेको थियो।

1

Scroll to Top