लोकेन्द्र श्रेष्ठ “ईश्वर”
मैले नजिकबाट चिनेको डा. प्रकाशराज न्यौपाने—एक कुशल सर्जन मात्र होइन, कोमल हृदयका, अत्यन्त सरल, समर्पित र मानवीय चिकित्सक हुनुहुन्थ्यो। उहाँको असामयिक निधनको खबरले मन स्तब्ध मात्र होइन, गहिरो शून्यतामा डुबेको अनुभूति गराएको छ।
मैले भक्तपुर क्यान्सर अस्पतालमा अध्यक्षको जिम्मेवारी सम्हालिरहेको समयमा उहाँसँग वर्षौंसम्म सँगै काम गर्ने अवसर पाएँ। त्यो केवल सहकार्य मात्र थिएन—त्यो एक निरन्तर सिकाइ, प्रेरणा र आत्मीय सम्बन्धको यात्रा थियो। उहाँले करिब दुई कार्यकाल मेडिकल डाइरेक्टरको रूपमा कार्य गर्दै अस्पताललाई आजको स्तरसम्म पु¥याउन निर्णायक भूमिका खेल्नुभयो।
अस्पतालमा आधुनिक, सुसम्पन्न अपरेसन थियटर (ओ.टी.) निर्माण गर्ने सपना उहाँकै नेतृत्वमा साकार भयो। अस्पतालका जुनियर सर्जनहरूलाई हात समातेर, धैर्यतापूर्वक अपरेसन सिकाउने उहाँको शैली अद्वितीय थियो। आज उहाँबाट सिकेका चिकित्सकहरू भक्तपुर क्यान्सर अस्पतालसँगै देशका विभिन्न अस्पतालहरूमा दक्ष रूपमा सेवा दिइरहेका छन्—त्यो उहाँको जीवित योगदान हो।
भक्तपुर क्यान्सर अस्पताललाई १०० शैय्याको रूपमा विस्तार गर्ने अभियानमा उहाँको योगदान अत्यन्त महत्वपूर्ण रह्यो। नेपाल सरकारबाट अनुमति प्राप्त गर्ने प्रक्रियामा उहाँले खेलेको भूमिका सधैं स्मरणीय रहनेछ। विपन्न र असहाय बिरामीहरूप्रति उहाँको करुणा, सहयोगी भावना र “क्यान्सरका बिरामीका लागि केही गरौँ” भन्ने अठोट उहाँको पहिचान थियो।
हामी सँगै विभिन्न देशका अस्पतालहरूको अध्ययन भ्रमणमा पनि गएका थियौँ। विशेषगरी, ताइवानको क्यान्सरसम्बन्धी कार्यक्रममा सहभागी हुँदा ताइपेईको क्यान्सर अस्पताल अवलोकन गर्ने क्रममा उहाँले नेपालमा पनि यस्तै स्तरीय, व्यवस्थित र आधुनिक क्यान्सर अस्पताल निर्माण गर्नुपर्छ भन्ने कुरा गहिराइका साथ राख्नुहुन्थ्यो। ती संवादहरू आज पनि कानमा गुञ्जिरहेझैँ लाग्छन्—उहाँको सोच कति दूरदर्शी र राष्ट्रप्रति कति समर्पित थियो भन्ने त्यतिबेला अझ स्पष्ट भएको थियो।
चीनको चाइना मेडिकल युनिभर्सिटीबाट जनरल सर्जरीमा एमएस तथा सर्जिकल अन्कोलोजीमा पीएचडी हासिल गर्नुभएका उहाँले आफ्नो ज्ञान विदेशमै सीमित राख्नुभएन—नेपालमै फर्केर त्यसलाई साकार बनाउनुभयो। उहाँ केवल कुशल सर्जन मात्र होइन, हजारौं बिरामीलाई नयाँ जीवन दिने एक सहृदय चिकित्सक हुनुहुन्थ्यो। तर आज, विडम्बना—जसले अरूलाई जीवन दिनुभयो, उहाँ स्वयं जीवनबाट बिदा हुनुभएको छ।
उहाँ अस्पताललाई संस्था होइन, आफ्नै परिवारजस्तो मान्नुहुन्थ्यो। कर्मचारीहरूसँगको आत्मीय व्यवहार, डाक्टर–नर्सहरूलाई अध्ययन र तालिमका लागि अगाडि बढाउने उहाँको सोचले संस्थालाई अझ मजबुत बनाएको छ।
विगत एक वर्षदेखि कोल्यान्जियोकार्सिनोमा जस्तो जटिल रोगसँग संघर्षरत रहनुभएका उहाँ अन्ततः हामीबाट टाढा हुनुभयो। भरतपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल तथा भक्तपुर क्यान्सर अस्पतालको विकासमा उहाँले पु¥याउनुभएको योगदान सधैं जीवित रहनेछ।
वरिष्ठ तथा अनुभवी क्यान्सर रोग विशेषज्ञ, नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय सदस्य, भक्तपुर क्यान्सर अस्पतालका पूर्व मेडिकल डाइरेक्टर तथा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका पूर्व अध्यक्ष डा. प्रकाशराज न्यौपानेको मिति २०८२ चैत २० गते भएको असामयिक निधनले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सर उपचार सेवामा अपूरणीय क्षति पुगेको छ।
भगवान् पशुपतिनाथसँग दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु। शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस्।
हार्दिक श्रद्धाञ्जली!
(लेखक क्यान्सर अभियन्ता, पूर्व अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल नि–वर्तमान अध्यक्ष नेपाल अर्बुद रोग निवारण संस्था)


