राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसङ्घबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहयोग पुर्याउने उद्देश्यले समझदारी भएको छ। मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीतिनिर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क आवश्यक रहेको भन्दै उक्त सहकार्य अघि बढाइएको हो।
राष्ट्रिय तथ्याङ्क कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा. कमलप्रसाद पोख्रेल र परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यालयका निर्देशक डा. वेदप्रसाद ढकाल र परिसङ्घका महानिर्देशक डा. घनश्याम ओझाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउने, तथ्याङ्क प्रणाली विकास, अनुसन्धान तथा नीति अध्ययन, तथ्याङ्क आदान–प्रदान, क्षमता विकास र जनचेतना अभिवृद्धिमा सहकार्य गरिनेछ।
परिसङ्घका अध्यक्ष पाण्डेले यस सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्याङ्कलाई व्यवस्थित बनाउन र नीतिनिर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए। त्यस्तै, कार्यालय प्रमुख डा. पोख्रेलले सरकारी तथा निजी क्षेत्रबीच सहकार्यबाट तथ्याङ्कीय गुणस्तर सुधार हुने र राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्कको प्रयोग अझ विस्तार हुने विश्वास व्यक्त गरे।
उक्त समझदारीलाई तथ्याङ्क प्रणाली सुदृढ गर्दै निजी क्षेत्र र सरकारबीच समन्वय बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


