चालू आर्थिक वर्ष ०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ले आर्थिक वृद्धिदर गत आवको तुलनामा २.३ विन्दु प्रतिशतले घट्ने देखाएको हो । विश्व बैंकले मध्यपूर्वमा जारी द्वन्द्व र आन्तरिक अवरोधका बिच आर्थिक वर्ष ०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर मध्यम रहने प्रक्षेपण गरेको हो । ‘पछिल्लो आर्थिक परिदृश्यअनुसार, मध्यपूर्वमा जारी द्वन्द्व र भदौमा भएको आन्तरिक आन्दोलनको असरका कारण नेपालको आर्थिक वृद्धिदर अघिल्लो आर्थिक वर्ष ०८१/८२ को ४.६ प्रतिशतको तुलनामा घटेर चालू आर्थिक वर्ष ०८२/८३ मा २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ । आगामी दिनलाई हेर्दा पुनर्निर्माण कार्य, जलविद्युत्को निरन्तर विस्तार र ०८४ सालमा हुने प्रदेश तथा स्थानीय निर्वाचनसँग सम्बन्धित उपभोगका कारण आर्थिक वर्ष ०८४/८५ मा आर्थिक वृद्धिदर औसत ४.४ पुग्ने अपेक्षा गरिएको विश्व बैंकले उल्लेख गरेको छ ।
नेपाल डेभलपमेन्ट अपडेट ‘आर्थिक वृद्धि दबाबमा आन्तरिक र विश्वव्यापी आघातहरूको सामना’ प्रतिवेदनले सुस्त पर्यटन गतिविधि, उच्च यातायात खर्च र आपूर्ति शृंखलामा आउन सक्ने सम्भावित अवरोधका कारण आर्थिक वर्ष ०८२/८३ मा सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरेको छ । ‘आर्थिक परिदृश्य अझै पनि अनिश्चित छ । मध्यपूर्वमा लम्बिएको द्वन्द्वले पर्यटकको आगमन घटाउन सक्ने, विप्रेषण प्रवाहमा कमी ल्याउन सक्ने, उपभोग कमजोर बनाउने र समग्र आर्थिक गतिविधिलाई सुस्त बनाउन सक्ने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सुधारिएको राजनीतिक स्थिरता, सबल समष्टिगत आर्थिक व्यवस्थापन, पर्याप्त विदेशी विनिमय सञ्चिति र निरन्तर संरचनागत सुधारले लगानीकर्ताको मनोबल उचो बनाउनुका साथै निजी लगानी र वृद्धिलाई बढावा दिन सक्नेसमेत विश्व बैंकले उल्लेख गरेको छ ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले नेपालको आर्थिक उत्थानशीलतालाई सुदृढ र थप रोजगारी सिर्जना गर्न निजी क्षेत्रको नेतृत्वमा हुने आर्थिक वृद्धिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विश्व बैंकको पछिल्लो दक्षिण एसियाली आर्थिक अध्ययन ‘औद्योगिक नीतिसँगको सहकार्य’ले विश्वव्यापी ऊर्जा बजारमा आएको अवरोधका कारण दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२५ को ७ प्रतिशतको तुलनामा घटेर सन् २०२६ मा ६.३ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । आर्थिक वृद्धिमा आउने यो गिरावटका बाबजुद दक्षिण एसिया अन्य उदीयमान बजार र विकासोन्मुख अर्थतन्त्रको तुलनामा दक्षिण एसियामा अझै पनि द्रुतगतिमा विस्तार भइरहेको छ । सन् २०२७ मा यो वृद्धिदर ६.९ मा फर्किने अपेक्षा गरिएको छ ।


