Banijya News

कच्चा तेल नभई प्रशोधित तेलको मूल्यअनुसार इन्धनको दर तय हुन्छ : आयल निगम

1
1.2K Shares

नेपाल आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारको कच्चा तेल (क्रुड आयल) नभई प्रशोधित तेलको मूल्यका आधारमा हुने स्पष्ट पारेको छ। कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धनको मूल्य बढी तोकिएको भनी भइरहेका विश्लेषणहरू भ्रामक र आधारहीन रहेको निगमको ठहर छ।

नेपालसँग आफ्नै ‘रिफाइनरी’ नभएकाले सिधै प्रशोधित तेल आयात गर्नुपर्ने बाध्यता रहेको र क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वभाविक रूपमा बढी हुने प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । पछिल्लो तथ्याङ्कअनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधित इन्धनबीचको मूल्य अन्तर उल्लेख्य रूपमा बढेको देखिन्छ। अप्रिल २०२६ को विवरणअनुसार कच्चा तेलको तुलनामा पेट्रोल र डिजेलको मूल्यमा प्रतिब्यारेल १४४ देखि २१६ डलरसम्मको महँगो अन्तर देखिएको छ। यसले गर्दा प्रशोधित इन्धन आयात गर्ने नेपालजस्ता मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढेको हो। खुद्रा मूल्य निर्धारण गर्दा इन्डियन आयल कर्पोरेसनको खरिद मूल्यमा भन्सार, कर, ढुवानी र बीमाजस्ता खर्चहरू समेत जोडिने निगमले जनाएको छ।

हालै वैशाख ३ गतेदेखि डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य वृद्धि गरिए पनि निगम अझै ठूलो घाटामा रहेको छ। मूल्य समायोजनपश्चात् पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा भइरहेको र अन्तर्राष्ट्रिय बजारको बढ्दो दरका कारण आगामी १५ दिनमा मात्रै निगमलाई करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ। इन्धनको अन्तिम खुद्रा मूल्यमा विभिन्न सरकारी कर र प्रशासनिक खर्चको समेत प्रभाव रहने भएकाले बाहिर चर्चा भएजस्तो मूल्य निर्धारणमा निगमको एकलौटी भूमिका नरहेको स्पष्ट पारिएको छ।

1

Scroll to Top