चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिकसम्म देशभर सडक पूर्वाधार विस्तारमा उल्लेख्य प्रगति देखिएको छ। सडक विभाग का अनुसार साउनदेखि चैत मसान्तसम्म कुल ५४८ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भएको छ, जसले वार्षिक लक्ष्य हासिलतर्फ सकारात्मक संकेत दिएको छ। सडक विभागले चालु आर्थिक वर्षको तीन चौथाइ अवधिमा लक्ष्यअनुसारको प्रगति हासिल गरेको देखिन्छ। बाँकी अवधिमा निर्माणको गति कायम राख्न सके वर्षको अन्त्यसम्म अधिकांश लक्ष्य पूरा हुने अपेक्षा गरिएको छ।
विभागका तथ्यांक अनुसार ९ महिनाको अवधिमा दुई लेनतर्फ ४७४ किलोमिटर र चार लेनतर्फ ७४ किलोमिटर सडक कालोपत्रे गरिएको छ। चालु आवमा सरकारले दुई लेन सडक ८०० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेकोमा हालसम्म ५० प्रतिशतभन्दा बढी प्रगति हासिल भएको देखिन्छ। यस्तै, चार लेन सडकतर्फ १०९ किलोमिटर लक्ष्य लिइएकोमा करिब ६७ प्रतिशत काम सम्पन्न भइसकेको छ।
सडकसँगै पुल निर्माणमा पनि गति देखिएको छ। हालसम्म ११८ वटा पुल निर्माण सम्पन्न भएका छन्, जबकि वार्षिक लक्ष्य १६२ वटा रहेको छ। त्यस्तै, दुर्गम तथा आपतकालीन अवस्थाका लागि महत्वपूर्ण मानिने बेली ब्रिज जडानमा पनि प्रगति हुँदै गएको छ। लक्ष्य ५ मध्ये ३ वटा बेली ब्रिज जडान भइसकेका छन्।
सडक सुरक्षालाई ध्यानमा राख्दै क्र्यास बेरियर जडान कार्य पनि अगाडि बढाइएको छ। चालु आवको ९ महिनामा ३७ हजार १४२ मिटर बराबर क्र्यास बेरियर राखिएको विभागले जनाएको छ। साथै, राजमार्ग मर्मत ७१ किलोमिटर तथा पुनर्निर्माण तथा स्तरोन्नति ५२ किलोमिटर बराबर सम्पन्न भएको छ।
पूर्वाधार विकाससँगै रोजगारी सिर्जनामा पनि सकारात्मक प्रभाव परेको देखिन्छ। विभागका अनुसार ९ महिनाको अवधिमा ३ हजार ८७१ कार्यदिन बराबर रोजगारी सिर्जना भएको छ। बजेट कार्यान्वयनतर्फ पनि उल्लेख्य प्रगति भएको छ। यस अवधिमा करिब ४४ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने चालु आवका लागि विभागलाई कुल १ खर्ब २४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।


