Banijya News

खाद्य गुणस्तर अनुगमन अब स्थानीय तहको जिम्मा, निरीक्षक नियुक्तिको बाटो खुल्यो

1
1.1K Shares

खाद्य वस्तुको गुणस्तर र स्वच्छतामा सुधार ल्याउने उद्देश्यसहित सरकारले बजार अनुगमन तथा नियमनको जिम्मेवारी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ कार्यान्वयनलाई प्रभावकारी बनाउँदै यस्तो व्यवस्था लागू गर्न पहल थालेको हो।

नयाँ व्यवस्थाअनुसार अब प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र उत्पादन, भण्डारण र बिक्री वितरण भइरहेका खाद्य पदार्थको गुणस्तर परीक्षण र नियमन गर्नेछ भने स्थानीय तहले आफ्ना पालिकाभित्र प्रत्यक्ष अनुगमन गर्ने अधिकार पाउनेछन्। यसअघि केन्द्रीय निकायबाट मात्रै हुँदै आएको अनुगमन प्रणालीलाई विकेन्द्रीकरण गर्दै स्थानीय स्तरमै उत्तरदायित्व दिने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

सरकारको यो कदमले उपभोक्ताको स्वास्थ्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिएको छ। स्थानीय बजार, होटल, रेष्टुरेन्ट, किराना पसलदेखि ठूला खाद्य उद्योगसम्मको निगरानी अब स्थानीय तहकै नेतृत्वमा हुने भएपछि अनियमितता नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, उपभोक्ताले भोग्दै आएका गुणस्तरसम्बन्धी समस्या छिटो समाधान हुने पनि मन्त्रालयको दाबी छ।

यस व्यवस्थालाई कार्यान्वयन गर्न स्थानीय तहलाई आफ्नै कानुनी संरचना अनुसार ‘खाद्य निरीक्षक’ नियुक्त गर्ने अधिकार प्रदान गरिएको छ। आवश्यक योग्यता पुगेका जनशक्तिलाई निरीक्षकका रूपमा नियुक्त गरी नियमित अनुगमन, नमुना परीक्षण तथा कारबाही प्रक्रिया अघि बढाउन सकिनेछ। मन्त्रालयले यसका लागि आवश्यक मापदण्ड तयार गरी पालिकाहरूलाई निर्देशनसमेत दिइसकेको छ।

खाद्य निरीक्षकहरूले बजारमा उपलब्ध खाद्य वस्तुको गुणस्तर परीक्षण, म्याद नाघेका वा मापदण्डविपरीत वस्तु हटाउने, सरोकारवालालाई सचेत गराउने तथा आवश्यक परे कानुनी कारबाही प्रक्रिया अघि बढाउने जिम्मेवारी निर्वाह गर्नेछन्। यसले स्थानीय बजारलाई व्यवस्थित बनाउन र उपभोक्तालाई सुरक्षित खाद्य वस्तु उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विज्ञहरूका अनुसार खाद्य सुरक्षाको विषय केवल केन्द्रीय निकायको निगरानीमा सीमित हुँदा प्रभावकारीता घट्ने समस्या देखिँदै आएको थियो। स्थानीय तहमा अधिकार हस्तान्तरण भएपछि प्रत्यक्ष निगरानी बढ्ने, जवाफदेहिता स्पष्ट हुने र तत्काल कारबाही सम्भव हुने भएकाले समग्र प्रणाली बलियो बन्ने विश्वास गरिएको छ।

यद्यपि, यस व्यवस्थाको सफल कार्यान्वयनका लागि दक्ष जनशक्ति, प्रयोगशाला पूर्वाधार र नियमित तालिम आवश्यक पर्ने चुनौती पनि औंल्याइएको छ। कतिपय स्थानीय तहमा प्राविधिक जनशक्ति अभाव रहेको अवस्थामा निरीक्षक नियुक्ति र प्रभावकारी अनुगमनमा कठिनाइ हुन सक्ने देखिन्छ। त्यसैले मन्त्रालयले आवश्यक समन्वय र सहयोगमार्फत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

1

Scroll to Top