Banijya News

अन्तराष्ट्रिय स्तरको फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी जेठ २२ देखि हुुने

1
1.0K Shares

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ सञ्चालन हुने भएको छ । आगामी जेठ २२ गतेदेखि काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुने सो प्रदर्शनी जेठ २५ गतेसम्म गरी चार दिन चल्नेछ ।

नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको वर्तमान सन्दर्भमा उपभोक्ता, व्यवसायी र प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली र ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्यले यो प्रर्दशनी आयोजना गर्न लागिएको बताइएको छ ।

विद्युतीय व्यवसायी महासंघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक दिलिप कुमार अग्रवालका अनुसार सुरक्षित, गुणस्तरीय र आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको अवस्थामा यो मेलाको आयोजना गरिएको हो

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनीहरू, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ र प्रदर्शनीका लागि सम्पूर्ण स्टलहरू बुकिङ भइसकेका छन् ।

मेलामा ट्रांसमिसन तथा डिस्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरणहरू, वायर, केबल तथा कन्डक्टर, एलइडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि र अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरू प्रदर्शन गरिनेछ । यस प्रदर्शनीले उपभोक्ताहरूलाई एउटै थलोमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू तुलना गर्न, प्राविधिक जानकारी लिन र सुरक्षित विद्युतीय सामग्रीको प्रयोगबारे सचेतना जगाउन उत्कृष्ट अवसर प्रदान गर्नेछ भने प्रदर्शक कम्पनीहरूका लागि आफ्नो ब्रान्ड प्रवद्र्धन गर्ने र व्यावसायिक सञ्जाल विस्तार गर्ने प्रभावकारी माध्यम बन्नेछ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका सरोकारवाला संस्थाहरूको सहयोग र सहभागिता रहने यस मेलाको व्यवस्थापन मिडिया स्पेसले गरिरहेको छ । मेलाको मुख्य प्रायोजकमा ट्रान्सवेल्ड ट्रान्सफर्मर रहेको छ भने पावर्ड बाइमा ह्यावेल्स, प्लेटिनम स्पोन्सरमा जनता के.आई., डायमण्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटवाइट इलेक्ट्रीकल्स तथा गोल्ड स्पोन्सरमा ब्रिलेन्ट एलइडी रहेका छन् ।

प्रदर्शनीको ओफिसियल बैंकमा नविल बैंक, ओफिसियल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, ओफिसियल क्यारियरमा एस.के.बी. ग्रुप, टेक्नोलोजी पार्टनरमा जुलाई टेक ल्याब्स र इन्टरनेट पार्टनरमा सजिलो नेट रहेका छन् । देश तथा विदेशका उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी र आम सर्वसाधारण गरी हजारौँ आगन्तुकहरूले यस मेलाको अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।

1

Scroll to Top