स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थाको आकस्मिक कक्षमा पुगेका बिरामीको उपचारमा समेत कडाइ गरेको छ । निजी संस्थाले सामान्य प्रकृतिका बिरामीको आकस्मिक सेवाअन्तर्गत उपचार गरेमा बीमा दाबी भुक्तानी नपाउने भएका हुन् ।
स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य सेवा प्रदायक संस्थाका नाममा जेठ १८ गते एउटा परिपत्र जारी गर्दै स्वास्थ्य बीमा बोर्डले यस्तो निर्देशन जारी गरेको हो । बीमा बोर्डले जेठ १२ गतेको निर्णयलाई आधार मान्दै यस्तो निर्णय गरिएको जनाएको छ ।
यसअघि जेठ १२ गते निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै बोर्डले सामान्य अवस्थाका बिरामीलाई बीमामा उपचार नगराउन भनेको थियो । तर, निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवामार्फत स्वास्थ्य बीमाको सेवा लिन बीमितको भीड बढ्न थालेपछि बोर्डले यो परिपत्र जारी गरेको हो ।
‘कुनै बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक पर्ने प्रकृतिको देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नुहुन साथै त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रिया समेत आवश्यक पर्ने भएमा उपचार पद्धति अनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने व्यहोरा जानकारी गराइन्छ,’ बोर्डले भनेको छ ।
तर सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार प्रदान गरी बीमा दाबी पेश गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नगरिने बोर्डले स्पष्ट पारेको छ । ‘सो कार्य प्रचलित कानुनबमोजिम भइजानेछ’, परिपत्रमा भनिएको छ ।
यसैगरी, बीमितलाई पनि यो परिपत्रको पूर्ण पालना गरिदिन बोर्डले आग्रह गरेको छ । ‘यो सूचनाको पालना गरी सेवा प्रदायक स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना नगर्न तथा तोकिएबमोजिमको आवश्यक उपचार सेवा प्राप्त गरी सहयोग गर्न आग्रह गरिन्छ’, परिपत्रमा भनिएको छ ।


